धुर्कोट ६ को एक गोठमा आगलागी, करिब १ लाखको क्षति

माघ ९, गुल्मी ।

धुर्कोट गाउँपालिका-०६, कमेरेपानीको एक गोठमा आज बिहान आगलागी हुँदा करिब १ लाख बराबरको क्षति भएको छ। स्थानीय शारदा थापाको गोठमा बिहान ७ बजे आगलागी भएको हो। भैंसीलाई कुडो पकाउन गोठमा आगो बालेर घरमा चिया बनाउन गएको बेला आगलागी भएको वडा सदस्य शालिकराम अर्यालले जानकारी दिनुभयो।

आगलागीबाट ५० भारी खर, ३० भारी नल, २० भारी पोस्कर, टिन, डाँडा, र भाटा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। डेढ वर्षअघि मात्रै निर्माण गरिएको गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। तर, गोठभित्र रहेका १ भैंसी, १ पाडो, ३ बोका, र ७/८ वटा बाख्रालाई स्थानीयले सकुशल उद्धार गर्न सफल भएका छन्।

आगो नियन्त्रणका लागि ५०/६० जना स्थानीय बासिन्दा सक्रिय थिए। करिब ५० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा लिइएको अध्यक्ष कृष्णबहादुर नेपालीले जानकारी दिनुभयो।

प्रहरी चौकी वस्तुका प्रमुख तिलक नेपालीका अनुसार आगलागीबाट करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *