साबित्रा पौडेल,मंसिर ०५
पाल्पामा एक दिने सुन्तला महोत्सव अयोजना गरिने भएको छ। जिल्लाको रिब्दिकोट गाउँपलिका ७ पालुङ्ग मैनादिमा प्रथम “मैनादी सुन्तला महोत्सव” गर्न थालिएको हो।
रिब्दिकोट गाउँपालिका र वडा नं ७ को आयोजना,सुन्तला तथा फलफुल विकास केन्द्र तानसेन, कृर्षि ज्ञान केन्द्र तानसेन, प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना जोन तानसेन र हेफर प्रोजेक्टको सहआयोजनामा यहीँ मंसिर १६ गते शनिबार सुन्तला महोत्सव हुन लागेको हो।
सुन्तला कृषकलाई उत्पादनमा थप उत्साहित बनाउँदै आन्तरिक पर्यटनमा समेत टेवा पुर्याउने उद्देश्यले “सुन्तला महोत्सवको” आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष्य नारायण बहादुर कार्कीले बताउनु भयो ।
सुन्तला खेतीको विस्तार र विकास, बजारीकरणको सुनिश्चितता, विशेष पहिचान, कृषि पर्यटन प्रवद्र्धन, कृषकको उत्पादनमा वृद्धि गर्न महोत्सव गर्न लागेको अध्यक्ष्य कार्कीले जानकारी दिनुभयो।
रिब्दीकोटका बिभिन्न स्थानहरु वडा नं ७ को मैनादी,वडा नं ५ को नैटोला र सैटोला, वडा नं ४ को बाँजा र ढिकुलडाँडा तथा वडा नं २ को भुटुका सुन्तला उत्पादन को पकड क्षेत्र हो।
सुन्तला विशेष बाली भएकाले यसको प्रचारप्रसार, गुणस्तरको मापन र कृषकको आकर्षणको लागि सुन्तला महोत्सवले सहयोग पुग्ने वडा न ७ का अध्यक्ष्य दान बहादुर कुँवरले बताउनु भयो।
मैनादिमा मात्रै करिब ४०० घरधुरीले सुन्तला खेती गरेको र यस बर्ष सुन्तला खेतिबाट त्यस क्षेत्रमा २ करोड १० लाख बराबर आम्दानी हुने वडा अध्यक्ष्य कुँवरले बताउनुभयो। गत बर्ष सुन्तला खेतिबाट १ करोड ९० लाख बराबरको कारोबार भएको पनि उहाँले जानकारी दिनुभयो।
बिस्तारै कृषिमा फड्को मार्दै गरेको मैनादीमा गाउँपालिकाले सुन्तला र कागतीका विरुवामा ५० प्रतिशत अनुदान दिएकाले कृषकहरू उत्पादनमा आकर्षित भएका छन् । वैदेशिक रोजगारीबाट फर्केर होस् वा गाउँमै स्वरोजगारी बन्ने उद्देश्यले युवाले कृषि क्षेत्रलाई आकर्षणको केन्द्र मान्दै आएका छन् ।
सुन्तला बगैंचामा बेच्दा प्रती केजी ६५ देखि ७० रुपैयाँमा र बजारमा ८० देखि १०० रुपैयाँमा बिक्री गर्दै आइरहेको कृषकहरुले बताएका छन।
मैनादीको सुन्तला सदरमुकाम तानसेन,बुटवल, भैरहवा,पोखरा,काठमाडौँ लगायतका बजारमा पुग्ने गरेको छ।