
साबित्रा पौडेल, पुस २९ गुल्मी ।
गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा भोलिदेखि माघ ६ गतेसम्म लाग्ने माघे संक्रान्ति मेलाको तयारी पुरा भएको छ ।
गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखा, रुरु फ्रेन्ड्स क्लब रिडी र एफ.सी रिडीको आयोजना एवं रुरु क्षेत्र गाउँपालिका को मुख्य संरक्षण तथा रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीको संरक्षण र आधा दर्जनभन्दा बढी संघसंस्थाको संयोजनमा माघ १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने माघे संक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
माघे संक्रान्तिको दिन कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश मन्दिरको दर्शन गरेमा देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त भइने जनविश्वास रहिआएको छ भने कालीगण्डकीमा स्नान गर्नाले अनजानमा गरेका सम्पूर्ण पापहरू नष्ट भई मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।
रुरु क्षेत्र धार्मिक पौराणिक ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिन्छ । रिडी क्षेत्रमा प्राचीन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक विश्वास रहेको छ।
माघे संक्रान्तिमा रिडीमा आफ्ना पितृहरूलाई पिण्ड दिनेहरूको समेत भिड लाग्ने गर्दछ । रिडीमा श्राद्ध गर्नाले कोशी गएर पिण्ड दिए सरह फल प्राप्त हुने शास्त्रहरूमा उल्लेख छ ।
नेपालका चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा मेला हेर्न र स्नान गर्नका लागि गुल्मी, पाल्पा र स्याङ्जा सहित छिमेकी जिल्लाहरू साथमा भारतबाट समेत भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
माघ १ गतेदेखि ६ दिनसम्म चल्ने मेलामा उत्पादन तथा व्यापार व्यवसायको प्रवर्द्धन तथा प्रदर्शनी, घरेलु तथा ठूला उत्पादनको प्रदर्शनी, स्थानीय हस्त निर्मित काष्ठ माटो र बाँसका भाँडा तथा सामग्रीको प्रदर्शनी, कृषि प्रदर्शनी, विभिन्न जातजाति समुदाय र सम्प्रदायको लोक नृत्य सांस्कृतिक झाँकी तथा जात्रा प्रदर्शनी लगायत विविध सामग्रीहरूको प्रदर्शन हुने मुल आयोजक समितिका संयोजक तारा प्रसाद सुवेदिले जानकारी दिनुभयो ।
जेठी माइली र कान्छी संक्रान्तिको रुपमा चिनिने माघे संक्रान्ति मेलामा पुष्कल शर्मा, सुप्रिम मल्ल ठकुरी, शिलु भट्टराई, अर्जुन कौशल, विधान कार्की, उज्वल गिरी, कमल भट्टराई, विजय बम्रेल, भूमिका गिरी,पुरुषोत्तम भण्डारी पुर्खेबा, नारायण बीपी परियार, बिष्णु शिर्पाली, प्रतीक्षा कुँवर, नन्दु परियार, लालुमाया कुँवर, मञ्जु भट्टराई तथा अन्य राष्ट्रिय र स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ ।
रिडी माघे संक्रान्ती मेलाको अवसरमा रुरुक्षेत्र गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मी, कृषि ज्ञान केन्द्र गुल्मी, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मी, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरबार गाउँपालिकाको सहकार्यमा यही माघ १ गतेदेखि ३ गतेसम्म जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ ।
माघे संक्रान्ति मेलासँगै व्यापार व्यवसाय गर्न गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची, प्युठान, पर्वत, बाग्लुङ्ग, म्याग्दी, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ लगायतका स्थानबाट घरेलु सामग्री, ऊनीजन्य वस्तुहरू, राडीपाखी, कम्बल, बाँसका सामग्रीहरु तथा जडीबुटीहरू बिक्री गर्नको लागि कतिपय व्यापारीहरू रिडी आइसकेका छन् भने कतिपय आउने क्रममा रहेका प्रचार प्रसार संयोजक चिरञ्जिवी ज्ञवालिले जानकारी दिनुभयो ।