आम्दा अस्पतालको लापरवाहीले गुल्मीकी सुत्केरी महिलाको मृत्यु

मंसिर १३ गुल्मी।

सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवल (आम्दा) मा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।


मंगलबार गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेककी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएपछि आफन्तले डाक्टर बस्यालमाथि कुटपिट गरेका हुन् ।


बच्चा सकुशल जन्मिए पनि आमाको मृत्यु भएपछि आक्रोशित बनेका विरामीका आफन्तहरुले छलफल चलिहरेका बेला मेडिकल सुपरिटेन्डेन्ट डाक्टरलाई कुटपिट गरेका हुन् ।

भवानीको मृत्युपछि आक्रोशित मृतकका आफन्तले क्षतिपूर्ति बापत ५० लाख माग गरेका थिए। त्यति ठूलो रकम दिने अवस्था नभएको बताएपछि मेसु बस्यालमाथि कुटपिट भएको अस्पतालका प्रशासन प्रमुख खगेन्द्र क्षेत्रीले बताए ।

सोमबार शल्यक्रियामार्फत पाँच किलोग्रामको बच्चा जन्माएकी भवानीलाई मंगलबार हृदयघात भएर मृत्यु भएको आम्दा अस्पातलले जनाएको छ।

कुटपिटपछि घाइते भएका मेसु बस्यालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

कुटपिटपछि बेहोस भएका बस्यालको टाउको र पेटमा चोट लागेको छ । आक्रोशित आफन्तहरुले अस्पतालमा तोडफोड समेत गरेका छन् ।
यसैबिच, कुटपिटमा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *