काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा अब जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने भएका छन्।
त्रिवि नेपाली विषय केन्द्रीय विभागका विभागीय प्रमुख तथा नेपाली विषय स्थायी समितिका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइटेलले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकालाई स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णय भएको जानकारी दिए।
नेपाली विषय स्थायी समितिका अध्यक्ष लुइँटेलका अनुसार यसका लागि त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको,त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्नेछ।