माघ १५,गुल्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुरु क्षेत्र गाउँ कमिटी बलेटक्सार, गुल्मीले विभिन्न माग राखी गाउँपालिका अध्यक्ष यदु ज्ञवाली समक्ष ज्ञापन पत्र बुझाएको छ ।
देशमा संघीय लोकतन्त्र-गणतन्त्र स्थापना भएपछी जनताको अपेक्षा बढनु र राज्यका निकायहरूको कार्य सम्पादन प्रभावकारी नहुदा जनतामा निराशा बढिरहेको जानकारी गराउदै जनताको प्रत्यक्ष सम्पर्कमा रहेको स्थानीय सरकारका काम कार्वाहीलाई मितव्यायी,पारदर्शी, परिणाममुखी र प्रभावकारी बनाउन बढी ध्यान दिनुपर्ने विषयमा १३ बुदे मागहरु राखी नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुरु क्षेत्र गाउँ कमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीले अध्यक्षलाई ज्ञापन पत्र बुझाउनुभएको हो ।
ज्ञापन पत्रमा स्थानीय तहको बजेट सिमितता र जनताले अपेक्षा गरेका धेरै आवश्यकतालाई सम्बोधन गर्नुपर्ने दवावले पनि ससाना धेरै योजनाहरु छ्नोटमा परेको र यसले प्रभावकारी परिणाम दिन कठिनाई भएकाले योजनाहरुको प्राथामिकिकरण गरि परिणाम दिनेखालका योजना छ्नोट गरि कार्यन्वयन गर्न जोड दिइएको छ ।
अति आवश्यक बाहेकको अवस्थामा मोटरबाटोमा गरिने खर्चलाई न्यूनीकरण गरि अन्य क्षेत्रमा खर्च गर्नुपर्ने, विकासका नाममा गरिने तालिम, गोष्ठी, सेमिनारको औचित्य, आवश्यकता र नतिजाको आधारमा मात्र संचालन गर्नुपर्ने आवश्यक रहेको , स्वास्थ्य र शिक्षामा सुधार गर्ने , आयआर्जन बढाउने, स्वरोजगार बनाउने, विपद व्यवस्थापन तथा वातावरण सुधार गर्ने , सुशासन र सेवा प्रवाहलाई सहजता बनाउने, बिकास योजनालाई बढी प्राथमिकतामा राख्न जरुरी रहेको बताइएको छ।
स्थानीय तहबाट हुने सेवा र सामाग्रीहरुको खरिद प्रणालीलाई पारदर्शी बनाउन सेवा र खरिद गर्दा उपलब्ध भएसम्म स्थानीय तह र जिल्ला भित्र गरि स्थानीय उद्दम र व्यवसायलाई प्रवर्द्धन गराउपर्ने , यस तहबाट प्रदान गरिने सहयोग, अनुदान तथा सामाग्रीहरुको वितरण पारदर्शी, औचित्यपुर्ण र न्यायमुलक बनाउनका लागि बढी ध्यान दिनुपर्ने, विगतका सरकारले गरेका असल अभ्यासलाई निरन्तरता दिनुपर्ने साथै निर्वाचनको समयमा जनतासँग गरिएका प्रतिबद्धतालाई ध्यानमा राखेर कार्य सम्पादन गर्न समेत ध्यानाकर्षण गराइएको छ ।
सवारी साधनको खरीद तथा परिचालन, इन्धनको प्रयोग कम गर्न, कामकाजका भत्ता, अतिथि सत्कार, मर्मत संभार, समान, खरिद, क्षमता विकासका नाममा हुने खर्चलाई कडाइपुर्वक रोक्न र प्रशासनको खर्च सार्वजनिकको व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ ।
यस्तै सेवाग्राही सेवा लिनको निमित्त कार्यलय जनप्रतिनिधि तथा कर्मचारी कहा आउने भन्दा जनता कहा सेवा पुर्याउने कार्य प्रणाली सुरु गर्न र जवाफदेही र जनमुखी बनाउन बढी जोड दिनुपर्ने, जनतासँगको नियमित भेटघाट एंव अन्तरक्रियाका कार्यक्रम संचालन गर्नुपर्ने,स्वास्थ्य संस्थामा नि:शुल्क प्राप्त हुने औषधिको अभाव देखिएकोले सुगर प्रेसर लगायतका औषधिहरु नियमित उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।
ज्ञापन पत्रमा ‘पहिले देखि निरन्तर चलिरहेका क्रमागत योजनाको शिलान्यासका नाममा शिलालेख राख्नु कति उचित हो?’ भनी प्रश्न सोधिएको छ ।
गाउँपालिकाका फाँटहरुमा कर्मचारी अनुपस्थित हुने, सामाजिक सुरक्षा भत्ता, शिक्षक कर्मचारीका तलव निकासा गुनासाहरु अन्त्य गर्नुपर्ने , कर्मचारीलाई उच्च मनोबलका साथ कार्य सम्पादन गर्ने वातावरण सिर्जना गर्नुपर्ने र कोटेसनबाट संचालन हुने आयोजनाको निमित्त तोकिएको विधि र प्रक्रिया पुरागरी निष्पक्ष ढंगले गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।