रुरुक्षेत्रमा हुने लुम्बिनी प्रदेश स्तरीय “लाखे महोत्सव”को तयारी पुरा

साबित्रा पौडेल,मंसिर ०८ गुल्मी।

गुल्मीको रुरुक्षेत्रमा भोली लुम्बिनी प्रदेशस्तरीय पहिलो ‘लाखे महोत्सव तथा लाखे नाच प्रतियोगिता’ हुने भएको छ। नेवा: देय् दवू जिल्ला कार्यसमिति बलेटक्सार गुल्मीको आयोजना तथा रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार सो प्रतियोगिता हुन लागेको हो।
भोली हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको नेनेवा: देय दवु :गुल्मीका सह सचिव कमलप्रसाद श्रेष्ठले बताउनुभयो।

भोली रुरुक्षेत्र गाउँपालिकाको खेलमैदान, रुरुक्षेत्र गाउँपालिका–४, घिउबेंसीमा हुने महोत्सवको लागि आज सम्म अनिवार्य समूह दर्ता गराउनुपर्ने र सहभागी हुने समूह बढीमा १२ जनाको हुनुपर्ने पनि सह सचिव श्रेष्ठले बताउनु भएको छ।

गाउँपालिकाको स्वीकृत नीति तथा कार्यक्रम अनुसार पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संरक्षण तथा सामाजिक एकता र सद्भाव कायम गर्नुका साथै मौलिक संस्कृति मार्फत भातृत्व कायम गर्ने उद्देश्यले लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गाउँपालिकाको समन्वयमा नेवा: देय् दवू जिल्ला कार्यसमिति, बलेटक्सार गुल्मीको आयोजनामा ‘लाखे महोत्सव तथा लाखेनाच प्रतियोगिता’ हुन लागेको हो। सो प्रतियोगितामा लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहबाट सहभागी हुन सकिने उहाँले बताउनुभयो।

यस्तै, लाखे नाच प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार एक रुपियाँ, द्वितीय हुनेलाई ३५ हजार एक र तृतीय हुनेलाई २० हजार एक रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो।

लुम्बिनी प्रदेशस्तरीय यो महोत्सवले रुरुक्षेत्रको समग्र धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै प्रदेशभरका स्थानीय तहका मौलिक कला संस्कृतिलाई जगेर्ना गर्दै रुरुक्षेत्रको पहिचान स्थापित गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।

महोत्सवको लागि गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट पाँच लाख रुपियाँ रकम विनियोजन गरिएको उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *