बैशाख ८ , गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकामा संचालित एक दिने उखु महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा संचालित एक दिने महोत्सव भव्यताका सम्पन्न भएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । महोत्सवमा बिभिन्न जातका उखु , खुदो तथा गूडका स्टलहरु राखिएको थियो ।
महोत्सव छत्रकोट गाउँपालिका ४ दिगामको कुडारचौरमा शुक्रबार बिहान ११ बजे गाउँपालिका अध्यक्ष रामपप्रसाद पाण्डे र जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रिले संयुक्त रुपमा गोरुबाट उखु पेलिने परम्परगात कोलमा उखु पेलेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पाण्डेले उखु खेतीलाई प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो । गाउँपालिकाले गत वर्ष खुदो र गुणबाट डेढ करोड आम्दानी गरेको उहाँको भनाइ छ ।
यस्तै जिल्ला समन्वय प्रमुख खत्रिले गाउँपालिकाले आयोजना गरेको महोत्सव सह्रानिय भएको बताउनुभयो ।
यस्तै गाउँपालिकाका पुर्व अध्यक्ष मधुकृष्ण पन्तले अघिल्लो कार्यकालमा छत्रकोटको खुदो र काठमाण्डौको टोखा नगरपालिकाको चाकु एक अर्कामा प्रचार प्रसार एवं ब्यापार आदन प्रदान गर्न भंगेनी सम्बन्ध स्थापित गरिएको बताउनुभएको थियो ।
महोत्सवमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरबहादुर पुनले उखु उत्पादनबाट किसानहरुको जिवोनस्तर उकास्न टेवा पुग्ने बताउनुभयो ।
दिगामका वडाध्यक्ष गुनाखर ज्ञवालीले उखु कृषकलाई प्रोत्सहित गर्न वडाले पनि विभिन्न कार्यक्रम अगाडी सारेको बताउनुभएको छ ।
उद्घाटनपछी गाउँपालिका अध्यक्ष पाण्डेले समन्वय प्रमुख खत्रिलाई उखु , खुदो र गुणको प्रदर्शन स्थलको अवलोकन गराउनुभएको थियो ।
महोत्सवमा खुदो र गुण उत्पादन व्यवसायमा सदियौं देखिको प्रशिद्ध थलो अगाह बजारका नेवार समुदायले आफुहरुको भेषभुषा सहित झाँकी निकालेका थिए ।
यस्तै लाखे नाचले महोत्सवमा थप मनोरञ्जन प्रदान गरेको थियो भने दिगामको प्रशिद्ध भजन मण्डलीहरुको प्रस्तुती थप आकर्षण केन्द्र बनेको थियो
।
महोत्सवमा स्थानीय कलाकार बाबुराम परियारले दिगामको उखु प्रचार सम्बन्धी बाजातालको गित निकालेर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो ।
महोत्सवमा उखुलाई पेल्ने तरिका र गुड, खुदो तयार गर्ने तरिकाबारे किसानले नमुना प्रदर्शनसमेत गरिएको थियो ।
कार्यक्रममा दर्जनौ अगुवा कृषकहरुलाई गाउँपालिकाले प्रशंशा पत्रसहित सम्मान गरेको थियो । भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।
महोत्सवको अवलोकन गर्न छत्रकोट गाउँपालिका संगै छिमेकी पालिका बाट समेत दर्शकको सहभागीता रहेको थियो ।
छत्रकोट गाउँपालिकाले सुन्तला र खुदो र गुणलाई उद्योगका रुपमा विकास गर्दै आएको छ ।
गाउँपालिका भित्र रहेका गाउँले ग्रुप अफ ईन्डिष्ट्रज प्रालि, दिगाम उखु खुदो गुण क्रशर उद्योग , न्यौपाने कृषि तथा पशु फर्मा , श्रीधारापानी मानकोट उखु सहकारी संस्था लगायत दर्जनौ संस्थाले खुदो र गुण उत्पादनलाई उद्योगका रुपमा विकास गरेका छन ।
छत्रकोट गाउँपालिकाको वडा नं १ हुँगा, वडा नं ३ हर्दिनेटा, वडा नं ४ दिगाम, वडा नं ५ खर्ज्याङ उखु खेतिका लागि पकेट क्षेत्र मानिन्छ्न ।