माओवादीमा पार्टीको नाम र चुनाव चिह्न फेर्न चर्को दबाब

फागुन ३, काठमाडौं ।

माओवादी केन्द्रको जारी विधान सम्मेलनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने मत जबर्जस्त उठेको छ ।

मंगलबारदेखि जारी विधान अधिवेशनमा समूहगत छलफलबाट आएको निष्कर्षसहित सुझाव राख्ने क्रममा प्रतिनिधिहरूले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्नुपर्ने र नेतृत्व चयन प्रत्यक्ष निर्वाचन विधिबाट गर्नुपर्ने सुझाव दिएका हुन् ।

सम्मेलनमा सहभागी नेताहरूका अनुसार उपस्थित अधिवेशन प्रतिनिधिहरूमध्ये नाम परिवर्तनको पक्ष विपक्षमा आधा–आधा मत आएको छ ।

चुनाव चिह्न परिवर्तनमा बहुमत र नेतृत्व चयनको विधि प्रत्यक्ष निर्वाचन प्रणाली बनाइनुपर्छ भन्नेमा करिब शत प्रतिशत प्रतिनिधि देखिएका छन् । एक पदाधिकारी भन्छन्, ‘यसले नेतृत्व तहमा लामो समयदेखि भइरहेको छलफल पार्टीको तल्लो तहसम्मै पुगेको छ भन्ने प्रमाणित गरेको छ ।’

अधिवेशनमा उपस्थित करिब १३०० प्रतिनिधिले आआफ्नो समूहमा छलफल गरेपछि बुधबार टोली नेताले निष्कर्षसहितको सुझाव पेश गरिरहेका छन् । प्रतिनिधिहरूका २० वटा समूहमध्ये बुधबार १३ वटा समूहले राखेको निष्कर्षसहितको सुझावमा अधिकांशले पार्टी पुनर्संरचनाको सुरुवात नाम, चुनाव चिह्न र नेतृत्व चयनको विधिबाट गर्नुपर्ने धारणा राखे ।

आफ्नो समूहबाट सुझाव पेश गर्ने हिमाल शर्मा, परशुराम रम्तेल, हरिराज अधिकारी, ओम शर्मा, सरल सहयात्री, युवराज चौलागाईलगायतले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।

पार्टीको नाम परिवर्तन गर्दा अरु पार्टीबाट आउनेहरूलाई समेत समेट्न सजिलो हुने उनीहरुको तर्क छ । पार्टीको नामबाट माओवादी हटाएर नेकपा केन्द्र, हाम्रो कम्युनिस्ट पार्टी, नेकपा एकीकृत, समाजवादी केन्द्र, नेकपा समाजवादीजस्ता नाम उपयुक्त हुनसक्ने सुझाव समेत उनीहरुले दिए ।

अहिले माओवादीको चुनाव चिह्न गोलाकारभित्र हसिया हथौडा छ । यसको साटो सहज रुपमा भन्न सकिने र मतदातामा सकारात्मक प्रभाव पर्ने खालको रोज्नुपर्ने नेताहरुले बताएका छन् ।

पार्टीको नाम र चुनाव चिह्नसँगै सिद्धान्तलाई पनि वैज्ञानिक समाजवादमा जाने गरी तय गर्नुपर्ने सुझाव अधिवेशन हलमा प्रतिनिधिबाट आएको छ । साथै, कमिटीको नेतृत्व चयनमा मात्रै नभएर महाविधेशन प्रतिनिधि र विभिन्न तहका चुनावमा जनप्रतिनिधिका लागि उम्मेदवार पनि पार्टी सदस्यले नै छनौट गर्न पाउनु पर्ने सुझाव माओवादी केन्द्रमा आएको छ ।

माओवादी नेता युवराज चौलागाई समूहगत छलफलका क्रममा प्रतिनिधिहरूले तीन वटै विषयलाई प्राथमिकताका साथ उठाएको र समूहगत छलफलको निष्कर्ष पनि त्यसरी नै प्रस्तुत भएको बताउँछन् । उनका अनुसार युद्धबाट आएको इतिहास भएको पार्टी हुनु र कयौं प्राविधिक कारणले पनि पार्टीपंक्तिमा नाम र चुनाव चिह्न परिवर्तनको आवश्यकता महसुस भएको बताए ।

‘नाम परिवर्तन गर्नुपर्छ भन्नुमा सहरी क्षेत्रको जनमतमा सकरात्मक प्रभाव पार्न सकिन्छ कि भन्ने धारणा रहेको देखिन्छ’ उनले भने, ‘माओवादी नामसँग पुरानो युद्धकालीन छाप धेरै छ । त्यसले आम मानिसलाई हाम्रो पार्टीको पछिल्लो नीति र विधिलाई साक्षात्कार गराउन नसकेको पनि चुनावी परिणामले देखिन्छ ।’

एमालेसँग एकता गरेर नेकपा बन्दा पनि करिव ३ वर्ष माओवादी नाम छाडेर काम गरेको भन्दै उनले अघि भने, प्रगतिशील शक्तिसँग एकता गर्नका लागि पनि यसले सजिलो बनाउने हुँदा नाम परिवर्तन गर्दा ठीक होला भन्नेमा सबै पुग्नुभएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *