भुवन भुसाल, मंसिर २९ गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले प्रथम चौमासिक प्रगती समीक्षा र सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि चौमासिक समीक्षा र सार्वजनिक सुनुवाई गरिएको हो ।
गाउँपालिकाले गएको चौमासिकमा सम्पन्न गरेका काम र प्रदान गरेका सेवाको बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले प्रस्तुतीकरण सहित बिस्तृत जानकारी राख्नुभएको थियो । गाउँपालिकाले गरेका काम र दिएका सेवाको बिषयमा उपस्थित सर्वसाधारणले प्रश्न जिज्ञासा र सुझाव समेत पेश गरेका थिए ।
कार्यक्रममा कृषिजन्य भुमी बाँझो रहेको, बजारीकरणको समस्या रहेको, बसाइँसराइले गाउँ रित्तिएको, शृङ्गेश्वर क्याम्पसमा विद्यार्थी कम हुँदा बन्द हुने अवस्थामा रहेको, अनुगमनमा जाँदा प्राविधिक बिना जाने गरेर निर्माण व्यवसायी समस्यामा परेको, बिकास निर्माणमा उपभोक्ता समितीले काम गर्ने तर कागजात पुर्याउन समस्या रहेको, अनुगमन अझै प्रभावकारी बनाउनु पर्ने लगायतका जिज्ञासा र सुझाव आएका थिए ।
उठेका प्रश्न र जिज्ञासाको गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेबी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, बिषयगत शाखा प्रमुख लगायतले उत्तर दिनुभएको थियो । कार्यक्रममा स्थानिय राजनितिक दल, व्यवसायी,किसान, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार डिबि खड्का, मनोज कार्की र सन्तोष महताराले गर्नुभएको थियो ।