माधव ज्ञवाली, भदौ २९ गुल्मी।
सुमेरु वंशका ज्ञवाली बन्धुहरुको श्री वृद्धि तथा काल अकालमा मृत्यु भएका ज्ञवाली बन्धुहरुको मोक्ष प्राप्तिका लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न.४ श्रृङ्गिश्वर धाम लेखमा नारायण बली सहित भागवत पाठ, गीता, चण्डी पाठ, यज्ञ होमन र वेद सहितको एकाहाको रुपमा पुजा आरधाना गरिने भएको छ।
देशभर विभिन्न स्थानमा छरिएर रहेका ज्ञवालीहरुको मुलथलोको रुपमा रहेको यस् श्रृङ्गीश्वर धाम लेख (माईका थानमा) मा आउँदो कार्तिकमा सो पुजा आरधाना हुने भएको हो तर कति गते हुने भन्ने अझै निधो भएको छैन।
पछिल्लो समय ज्ञवालीहरुको कुल विग्रदै गएको र कतिपय ज्ञवाली कुलभित्रकै मानिसहरु विभिन्न दुर्घटनामा परि, बेपत्ता भई अकालमा ज्यान गुमाउनुपरेको तथा काल गतिले मरेकाहरुको पनि आत्माको शान्तिको कामना र उनिहरुको मोक्ष प्राप्तिका लागि सो पाठ परायण एवं एकाहा लगाइने भएको रुरुक्षेत्र ४ मुसिडाडाका कुलप्रसाद ज्ञवालीले बताउनुभयो ।
उहाँले कतिपय ज्ञवाली बन्धुभित्र कुल बिग्रेर लुला, लङ्गडा तथा अपांग जन्म भईरहेको र त्यो सम्पुर्णको दोष निवारण गर्न साथै ज्ञवाली कुलभित्र जानअन्जानमा भएका दोषहरु मेटाउन पनि एकाहा लगाउन थालिएको बताउनुभयो ।
ज्ञवाली कुलभित्रै पर्नुहुने रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली सङ्गै ज्ञवा आसपासका सुमेरु वंशिय ज्ञवालीहरुको शनिबार सोही स्थानमा बसेको भेलाले सो निर्णय गरेको हो।
भेलाले रुरुक्षेत्र गाउँपालिका वडा न.५ पागा घर भएका कृष्णप्रसाद ज्ञवालीको संयोजकत्वमा सो पुजाआजा कार्यक्रमको लागि मुल समिति समेत गठन गरेको छ भने आर्थिक समिति, पुजा ब्यवस्थापन समिति, प्रचारप्रसार समिति एवं सल्लाहकार समिति समेत चयन गरेको छ।
अब समितिले पारदर्शी रुपमा सक्रिय भई काम सुरु गर्ने संयोजक कृष्णप्रसाद ज्ञवालीले बताउनुभयो, उहाँकै अगुवाइमा नै सो भेला सम्पन्न भएको थियो। देशभर छरिएर रहनुहुने सम्पुर्ण ज्ञवाली बन्धुहरुले आफ्ना पितृहरुको मोक्ष प्राप्तिको लागि सो एकाहामा सहभागी हुन सकिने र भौतिक, आर्थिक एवं विभिन्न रचनात्मक तरिकाले सहयोग गर्न चाहानेहरुको लागि बाटो खुल्ला रहेको उहाँले जानकारी दिनुभएको छ।
सम्पुर्ण ज्ञवालीहरुको मुख्य थलो नै यस स्थान भएकोले यहाँ लगाइने एकाहाको ठूलो महत्व रहने रुरुक्षेत्र ४ धरमपोखराका पुरोहित ओमप्रकाश ज्ञवाली बताउनुहुन्छ।
एकाहाको दिन देशका विभिन्न स्थानमा छरिएर रहनुहुने धर्मकर्ममा आस्था राख्नुहुने सम्पुर्ण ज्ञवाली बन्धुहरुलाई पुजाआजामा उपस्थित भई सहयोग गरिदिनुहुन मुल समिति सचीव रामजिप्रदाद ज्ञवालीले आग्रह गर्नुभएको छ। शनिबार बसेको भेलामा छत्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानबाट सुमेरु वंशका ज्ञवालीहरुको उपस्थिति रहेको थियो।