मंसिर २४, रेडियो श्रृङ्गेश्वर / नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी ‘विशेष रुपान्तरण अभियान’ गुल्मीमा पनि सक्रियतापूर्वक संचालन गरिरहेको छ । यसैअन्तर्गत शनिबार छत्रकोट र रुरुक्षेत्र गाउँपालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बलेटक्सारस्थित एकान्त पाटी प्यालेसमा भएको कार्यक्रममा प्रशिक्षकहरुले परिवर्तनको मुख्य संवाहक माओवादी केन्द्र अहिले सुशासन, दिगो विकास र समावेशीता संस्थागत गर्न संघर्षरत रहेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक ईन्द्रजीत थारुले राजनीतीक अर्थशास्त्र, विशेष प्रशिक्षक यज्ञ पोख्रेलले संघीयता, पहिचान र समावेशिताका विषयमा प्रशिक्षण दिनुभयो ।
यसैगरी विशेष प्रशिक्षक तथा पार्टी जिल्ला अध्यक्ष युवराज के.सीले दर्शनशास्त्रका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
नेकपा माओवादी केन्द्र छत्रकोट गाउँकमिटी सचिव रवि कँडेलका अनुसार प्रशिक्षकहरु भविश्वर तिवारी, वीर ब कार्की, र पदम पाण्डे लगायतले माओवादीका एजेण्डा कार्यान्वयनसँगै पार्टी र जनसंचारका विषय चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
माओवादीले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आगामी पुस १० भित्र पार्टी सदस्यता नवीकरण सक्ने र स्थानीय स्तरमा आधारभूत प्रशिक्षण पुरा गर्ने बताएको छ ।
नेकपा माओवादी केन्द्र रुरुक्षेत्र गाउँ कमिटी अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन छत्रकोट गाउँकमिटी सचिव रवि कँडेलले गर्नुभएको थियो ।