गुल्मीका एम्बुलेन्सले एक महिनाभित्र जिपिएस जडान गर्नुपर्ने

चैत २८ , गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले एम्बुलेन्स संचालनमा कडाई गर्ने योजना बनाएको छ । नागरिक स्तरबाट व्यापक गुनासो आएपछि जिल्ला एम्बुलेन्स व्यावस्थापन समितिको बैठक बसेर केहि महत्वपूर्ण निर्णय समेत गरेको छ । एम्बुलेन्स चालकहरुले वास्तविक स्थान र सूचना नदिने, स्थानीय तहका एम्बुलेन्सहरु पनि बजार केन्द्रित भएर बस्ने र बिरामी बाहेकका यात्रु राख्ने गरेका गुनासा आउने गरेका छन् ।

जिल्ला एम्बुलेन्स व्यावस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्ला संचालित सवै एम्बुलेन्समा अनिवार्य जिपिएस सिस्टम जडान गर्ने निर्णय गरेको छ । जिपिएस सिस्टम जडान भएपछि सहि ठाउँ नभन्ने चालकको प्रवृति नियमन हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘एम्बुलेन्सका व्यापक गुनासा आएका छन् । निगरानी बढाइरहेका कारबाही पनि गर्छौ,’उनले भने,‘नियमनका लागि बैठक बसेर चारवटा महत्वपूर्ण निर्णय पनि गरेका छौ ।’

त्यस्तै दुर्घटना स्थलबाट पायक पर्ने स्थानसम्म एम्बुलेन्सले निशुल्क सेवा दिनुपर्ने व्यावस्था कडाईका साथ कार्यान्वयन गर्ने र एम्बुलेन्स संचालन गर्ने संस्थाले चुस्तदुरुस्त अवस्थामा संस्था भएकै ठाउँमा राख्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरि प्रसाद गैरैले जानकारी दिए । बैठकमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, रेडक्रस सोसाइटी, यातयात व्यावसायी, गुल्मी अस्पताल र संयुक्त एम्बुलेन्स संचालक संघका प्रमुख एवं प्रतिनिधीहरु सहभागी थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *