असोज २३ ईश्वरी बस्याल / विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएका्े छ । हरेक वर्षको अक्टोबर १० मा मनाइने दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मनाईयो ।
यसैबीच, गुल्मीदरबार गाउँपालिकाले “हाम्रो गाउँ स्वस्थ बनाउँ” अभियान अन्तर्गत मानसिक स्वास्थ्यसम्बन्धि सचेतनामूलक अभियान संचालन गर्दैछ । सर्ने तथा नसर्ने रोगहरु, तीनका असर र नियन्त्रणका उपायहरु प्रभावकारी रुपमा संचालन गर्ने योजनामा मानसिक स्वास्थ्यको विषय पनि महत्वका साथ राखिएको स्वास्थ्य शाखा संयोजक नारायण प्रसाद अर्यालले जानकारी दिनुभयो ।
यसअघि पनि मानसिक स्वास्थ्यका विषयमा धामीझाँक्रीलाई तालिम दिई औषधि उपचारको दायरामा ल्याउने अभियान चलाएको थियो ।त्यस्तो समस्या देखिएका ग्रामीण भेगका केही बिरामीहरु पहिला धामीकहाँ पुग्ने गरेका कारण उनीहरुमार्फत मनोवैज्ञानिक रुपमा पनि अनिवार्य अस्पताल पुग्न तयार गराउने रणनीती प्रयोग गरिएको हो ।
त्यसै अभियानमा स्थानीय आमासमुहका करिब ६० जनालाई पनि सचेतनामूलक तालिम दिईएको थियो ।
पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरुमा समन्वय गरी मानसिक स्वास्थ्यसँग सम्बन्धित औषधि सेवन गर्नेको संख्या गुल्मीदरबारमा १७ जना रहेको छ । यसमा निजी अस्तालको तथ्यांक भने समावेश छैन ।
तनको जस्तै मनको रोगप्रति पनि संवेदनशील भई योजनाका साथ काम गरिरहेको स्वास्थ्य शाखाले जनाएको छ । दिवसका अवसरमा आज पालिकास्तरका स्वास्थ्यकर्मीहरुबीच एक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ ।
कार्यक्रमका सहभागीहरुले जनस्तरमा मनोरोगका विषयमा व्याप्त भ्रम तथा गलत धारणा अन्त्य गर्न आ आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य शाखा संयोजक अर्यालका अनुसार मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिलाउने ध्यान तथा योगा गर्नाले पनि डिप्रेसनलाई कम गर्न सहयोग पुग्छ ।