जेठ २६, गुल्मी ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ।
गाउँपालिकालाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण बहादुर खत्रीले शुक्रबार एक कार्यक्रमका बीच पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घोषणा गर्नुभएको हो।
गाउँपालिकाका भित्रका सातवटा स्वास्थ्य संस्थाहरूले विभिन्न १६ वटा सूचकहरू पूरा गरी पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घोषणा गर्न सफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित घोषणा गर्नका लागि अहिलेसम्म भएका कार्यहरूको बारेमा जानकारी गराउनु भएको थियो ।
गाउँपालिका भित्रका स्वास्थ्यकर्मी, स्वयंसेविका, कर्मचारीहरूले उत्साह र उमङ्गका साथ काम गरेकाले पूर्ण पोषणमैत्री बनाउन सकिएको र यसलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष सरोज थापाले बताउनुभयो ।
पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरिएको थियो।