ईश्वरी बस्याल, असोज २१ / पछिल्लो समय मौसमी रुघाखोँकी र ज्वरोजन्य संक्रमण देशव्यापी बढेको छ । रुरुक्षेत्र गाउँपालिकामा पनि हल्का ज्वरो आउने, टाउको र शरीर दुख्ने तथा हल्का रुघाखोकी लाग्ने लक्षणसहितका बिरामीको संख्या बढेको हो ।
अहिलेको संक्रमणमा मुख्यत भाईरल ज्वरो, स्क्रब टाईफस र डेँगीका साथै टाईफाईड समेत देखिएको छ । शरीरमा बाहिरी जिवाणुकोे प्रवेश भएसँगै ज्वरो लगायतका लक्षण समान देखिएपनि फरक फरक खालका संक्रमण बढिरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
असोज महिना शुरु भएपछि मात्र २८३ जना ज्वरोजन्य लक्षणका बिरामीहरु रुरुक्षेत्र गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा पुगेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीका अनुसार यस अवधिमा रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै १५० जनाको नमुना परीक्षण गरिएकोमा १९ जनामा टाईफाइड, ३ जनामा स्क्रब टाईफस र १ जनामा डेँगी पुष्टि भएको थियो ।
बाँकी बिरामीहरुको पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरुमा परीक्षण गरि क्लिनिकल लक्षण भएकाहरुलाई पाल्पा रिफर गरिएको छ ।
यसैबीच, गाउँपालिकाको स्वास्थ्य शाखाले ज्वरोजन्य मौसमी संक्रमणबाट सावधानी अपनाउन तर नआत्तिन अनुरोध गरेको छ ।
संक्रमणबाट कसरी बच्ने भन्ने जिज्ञासामा स्वास्थ्य शाखा प्रमुख अधिकारीले भन्नुभयो, “डेंगीबाट सुरक्षित रहन लामखुट्टेको टोकाईबाट बच्नुपर्ने र त्यसका लागि सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्ने खाल्डाखुल्डी हटाउने र पुरा बाउला भएको कपडा लगाउनु सुरक्षित हुन्छ । डेंगी संक्रमित मानिसलाई टोकेको लामखुट्टेले स्वस्थ मानिसलाई टोक्यो भने पनि संक्रमण हुन सक्ने भएकाले यसतर्फ पनि सचेत हुनुपर्दछ ।“
उहाँका अनुसार ओसिलो झाडी तथा खेतबारीमा काम गर्दा किर्ना प्रजातिका परजिवीहरुबाट बच्न सकिए पनि स्क्रब टाईफस जस्ता संक्रमणबाट बच्न सकिन्छ । ज्वरोसहितका लक्षण रहिरहेमा, बिरामी कमजोर हुँदै गएमा तुरुन्त स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्ने अधिकारीले बताउनुभयो ।
यस्तो बेला आराम गर्ने, उमालेको पानी मात्र पिउने, झोलिलो ताजा तथा सजिलै पच्ने मात्र खानेकुरा खान पनि चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।