रमेश विश्वकर्मा, मंसिर २० गुल्मी।
गुल्मीको रेसुङ्गा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबैको महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।
“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आयोजित प्रशिक्षणमूलक अन्तरक्रियामा सहभागीहरुले आफैं सचेत बनेर हिंसा हुन नदिने कुरामा जोड दिनुभएको हो ।
यस अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख (एसपी) नविनकिशोर प्रधानले सहभागीहरुलाई लैङ्गिक हिंसाले समाजमा भइरहेको घटनाका विषयमा जानकारी गराउनुहुँदै समाजमा दिनप्रतिदिन लैङ्गिक हिंसाका घटनाहरु बढिरहेको बताउनुभयो । “अभियान मात्रै चलाएर लैङ्गिक हिंसाको अन्त्य हुँदैन,” उहाँले भन्नुभयो, “हिंसा न्यूनीकरणका लागि सबैको महत्त्वपूर्ण भूमिका जरुरी छ ।” नागरिक आफैं सचेत बनेर हिंसा हुन नदिनु नै समाधानको मुख्य स्रोत भएको भन्दै एसपी प्रधानले हिंसा बढ्दै जाँदा सुरक्षामा चुनौती बढ्दै जाने बताउनुभयो । महिला पुरूष दुवैले समाजलाई नैतिक रूपमा सचेत बनाई खुसीसँग बाँच्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।
अधिवक्ता गुणानिधि शर्माले सामाजिक केही चलनका कारणले पनि लैङ्गिक हिंसाका घटना हुने गरेको बताउनुभयो । “सांस्कृतिक र सामाजिक संस्कारले पनि लैङ्गिक हिंसाले निरन्तरता पाएको छ,” उहाँले भन्नुभयो, “केही राज्यका नीतिका कारण पनि हिंसा बढेको छ ।” समाजमा भएको कुसंस्कारलाई परिवार र समाजबाटै हटाउन जरुरी रहेको बताउनुभयो । सामाजिक केहि मूल्य र मान्यताका कारण पनि हिंसा बढेको उहाँको दावि छ ।
रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले सबैले घरलाई हिंसारहित बनाउन तल्लीन रहनुपर्ने बताउनुभयो । आफ्नै कारणले पनि पछि परिएको भन्दै उहाँले हामी सबै स्वयम् अनुशासनमा रहनुपर्ने बताउनुभयो । “नगरपालिकामा हिंसासम्बन्धी समस्याहरु कम आउने गरेका छन्,” उहाँले भन्नुभयो, “घर परिवार सबल र हिंसारहित बनायौं भने मात्रै सबैले समाजमा बोल्ने आँट गर्न सक्छौं ।” घरपरिवार, समाज हुँदै देशलाई नै आफ्नो समस्या थाहा नपाएर बाहिरको समस्यालाई मात्रै केलाउन थाल्यौं भने आफैंमा ठूलो समस्या हुने उहाँको भनाइ छ ।
नगरप्रमुख खिलध्वज पन्थीले आधुनिक, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि सबै प्रकारका हिंसाको अन्त्य हुनुपर्ने बताउनुभयो । “संविधानमा लेखिएका सबै कुरा व्यवहारमा लागू गर्न जरुरी छ । हामी धेरै कुरामा पछाडि छौं,” उहाँले भन्नुभयो, “सबैलाई राज्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले समावेशी लोकतन्त्र, संस्कार सहितको लोकतन्त्र खोजिरहेका छौं ।” हिंसा गर्दैन र हिंसा सहन्न भन्ने कुरामा इमानदारीपूर्वक सबैले काम गर्न जरुरी रहेको बताउनुभयो । सामन्तवाद प्रवृत्ति अन्त्यसँगै समावेशी प्रजातन्त्रमा सबैको सहभागिता बढाउनुपर्ने उहाँको भनाइ छ ।