साउन २२, गुल्मी।
सोमबार रातिदेखि निरन्तर परेको अविरल वर्षाका कारण माथिबाट आएको लेदोसहितको पहिरोले घर पुर्दा गुल्मीमा चारजनाको मृत्यु भएको छ।
जिल्लाको मुसिकोट नगरपालिका १ बिसौनामा आज बिहान ९ बजेको समयमा घर माथिबाट गएको लेदोसहितको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको हो ।
पहिरोमा पुरिएर बिसौनाका ४० वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मुसुरी विक र साढे दुई वर्षकी रियन्सी विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिनुभयो ।
यस्तै पहिरोमा पुरिएर विष्णु विक र नुना विक घाइते हुनुभएको छ । उहाँहरू दुई जनाको स्थानीयवासीले उद्धार गरेका थिए । अहिले उहाँहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
अहिले घटनास्थलमा प्रहरी चौकी पौदी अमराईबाट प्रहरी सहायक निरीक्षक लखन लाल चौधरीको कमान्डमा चार जनाको टोली घटनास्थलमा खटिएको छ ।
क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।