माघ १९ , गुल्मी ।
प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर २ ले धेरैजसो सेवा घरघरमै दिने गरी वडादेखि घरसम्म कार्यक्रम थालेको छ ।
एउटा कागज बनाउन आउँदा दिनभरीको काम छाड्नु नपरोस्; ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई दुःख नहोस्, आफ्नो गाउँबाट बाहिर गएकाहरूले पनि आफू रहेकै ठाउँबाट कागजात बनाउन सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरेको वडाध्यक्ष कृष्णप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
जन्मदर्ता, मृत्युदर्ता, जन्म प्रमाणित, मृत्यु प्रमाणित, अस्थायी/स्थायी बसोबास प्रमाणित, विपन्न नागरिक सिफारिस, राज्यले दिने ज्येष्ठ नागरिक भत्ता कार्ड, अपाङ्गता परिचयपत्र सिफारिस, दर्घरोगी सिफारिस, रातो र निलो कार्ड भएको अपाङ्गता भएका व्यक्तिकाे सबै प्रकारको सिफारिस वा प्रमाणित र ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको सबै प्रकारको सिफारिस वा प्रमाणितका काम ‘होम डेलिभरी’ हुने पोख्रेलले बताउनुभयो । यी सेवा लिनका लागि आवश्यक कागजपत्र ‘स्क्यान’ गरेर वा बुझिने गरी फोटो खिचेर इमेल वा म्यासेजमा पठाउनुपर्नेछ । आवश्यक कागजात आएको २४ घण्टाभित्रमा जनप्रतिनिधि र वडाका कर्मचारीले घरमै कागजपत्र पुर्याउने वडाध्यक्ष पोख्रेलकाे भनाइ छ ।
यसो गर्दा नागरिकको समय बचत हुने, फारम भर्ने र फोटोकपी गर्ने पैसा बचत हुने वडाको अपेक्षा छ । अहिले धेरैजसो युवायुवती पढाइ र रोजगारीको सिलसिलामा घरबाट टाढा गएको अवस्थालाई ध्यानमा राखेर यो कार्यक्रम शुरु गरेको वडाध्यक्ष पोख्रेलले बताउनुभयो ।