उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालतको आदेश,

मंसिर १५, गुल्मी।


नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहित नौ जनालाई थुनामै राख्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीलाई थुनामै राख्न आदेश दिएको हो ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका हकमा भने दुई न्यायाधीशबीच राय बाझिएको छ।

न्यायाधीश जनक पाण्डेले ३० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरे पनि न्यायाधीश प्रकाश खरेलले त्यसमा सहमत हुन नसकिने राय दिएपछि तेस्रो न्यायाधीश समक्ष पेश गर्ने आदेश भएको अदालतका प्रवक्ता भट्टराईले जानकारी दिए।

उच्च अदालत पाटनले भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमाछाड्न आदेश दिएको छ । अदालतले टेकनाथ रिजाललाई १५ लाख र सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

थुनामै रहनेहरुमा रायमाझीसहित पूर्व सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई, आङ्टावा शेर्पा, सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरी रहेका छन् ।

यस्तै, धरौटीमा छुट्नेहरुमा टेकनाथ रिजाल, नरेन्द्र केसी र सन्दीप रायमाझीसहित हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शम्शेर मियाँ, आशिष बुढाथोकी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधर रहेका छन् । काठमाण्डौ जिल्ला अदालतले गएको असार १ गते थुनामा राख्न दिएको आदेशविरुद्ध प्रतिवादीहरुले उच्च अदालतमा निवेदन दिएका थिए ।

यो सुनुवाइ हिजो सकिए पनि फैसला आज मात्रै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *