
साबित्रा पौडेल, फागुन १३ गुल्मी।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले एकीकृत सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
फागुन महिनामा नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान सञ्चालनमा रहेकोले गाउँपालिका बाट नसर्ने रोगहरू सम्बन्धी विविध गतिविधि सञ्चालन गरिँदै आएकोमा अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले एकीकृत सामुदायिक स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, महिलाको पाठेघर परीक्षण तथा पाठेघरको मुखको क्यान्सर परीक्षण, परिवार योजना अन्तर्गत आइ.यु.सि.डी. र इम्प्लान्ट सेवा, सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा मेडिकल गर्भपतन सेवा लगायतका विविध सेवाहरू उपलब्ध गराइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले जानकारी दिनुभयो ।
एकीकृत सामुदायिक स्वास्थ्य शिविर फागुन १९ गतेदेखि २८ गतेसम्म गाउँपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरूमा प्रदान गरिनेछ।
जस अन्तर्गत पहिलो दिन बलिथुम स्वास्थ्य चौकी,दोस्रो दिन जुभुङ्ग स्वास्थ्य चौकी, तेस्रो दिन गौडाकोट स्वास्थ्य चौकी, चौथो दिन बिरवास स्वास्थ्य चौकी, पाँचौं दिन अम्मर अर्वाथोक स्वास्थ्य चौकी, छैठौं दिन ठूलान आधारभूत स्वास्थ्य सेवा केन्द्र र अन्तिम दिन दरबार देवीस्थान स्वास्थ्य चौकीमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।