
फागुन १४, गुल्मी ।
रेडियो श्रृङ्गेश्वरले आज स्थापनाको नवौं वर्षगाँठ मनाउंदै छ । यस अवसरमा रेडियोले दिउँसो विविध कार्यक्रमहरु आयोजना गरेको छ । लोक रेडियो प्रा.लिद्वारा संचालित रेडियो श्रृङ्गेश्वरले २०७३ को महाशिवरात्री अर्थात आजकै दिनदेखि प्रसारण आरम्भ गरेको थियो । गुल्मीको रुरुक्षेत्र –४ बलेटक्सारमा प्रधान कार्यालय रहेको रेडियो श्रृङ्गेश्वरको छत्रकोट –३ भाालुपानीमा प्रसारणकेन्द्र रहेको छ ।
एफएम प्रविधिको १०४.४ मे.मा गुल्मी, अर्घाखांची, पाल्पा, बागलुङ, स्याङ्जा, प्युठान लगायत लुम्बिनी प्रदेशका सबै जिल्लाका साथै गण्डकी र कर्णाली प्रदेशका केही जिल्लामा सुन्न सकिन्छ । साथै इन्टरनेट माध्यमबाट www.sfm.com.np मार्फत संसारभर रेडियो श्रृङ्गेश्वरको पहुँच छ । दैनिक १८ घण्टा प्रसारण गरिरहेको रेडियोले स्थानीय सरोकारका विषयवस्तुमा आधारित सामग्री प्रसारण गरिरहेको छ । वार्षिकोत्सवको अवसरमा संचालक समितीका अध्यक्ष धातानन्द भुसाल र स्टेशन म्यानेजर ईश्वरी प्रसाद बस्यालले विज्ञप्तिमार्फत श्रोता,विज्ञापनदाता लगायत सबैप्रति आभार व्यक्त गर्नुभएको छ । ‘बोल्दै बोलाउँदै, सुन्दै सुनाउँदै’ भन्ने नाराका साथ गुन्जिरहेको यस रेडियोका समाचारमुलक प्रस्तुतिका साथै हजुबाका कुरा, सुुसेली, गन्थन, बौद्धिक महासंग्राम लगायतका कार्यक्रम श्रोतामाझ निकै लोकप्रिय छन्।
“समाचारमा तटस्थता, निष्पक्षता र विषयवस्तुको पारदर्शितालाई रेडियोले प्रधान विषय ठानेको छ सत्य निष्पक्ष र तथ्यगत सामग्री प्रसारणकै कारण हामी श्रोता माझ चिनिएका छौँ ” स्टेशन म्यानेजर ईश्वरी प्रसाद बस्यालले भन्नुभयो । “आगामी दिनमा थप परिकृष्त रुपमा अघि बढ्छौं ।” समय सापेक्ष ईन्टरनेट प्रविधिको प्रसारणमा व्यापकता र क्षमतावृद्धि अबको योजना रहेको म्यानेजर बस्यालको भनाई छ ।
“वर्षौँ रेडियो पत्रकारिता गरेका मेधावी सहकर्मीहरूको निरन्तर प्रयास र जुझारु संस्थापकहरूको टिमवर्कका कारण रेडियो श्रृङ्गेश्वर आजको अवस्थामा आउन सफल भएको छ” अध्यक्ष धातानन्द भुसालले भन्नुभयो “संचार दायित्वमार्फत समाज रुपान्तरणमा हाम्रो क्रियाशिलता थप वृद्धि हुँदै जानेमा विश्वस्त छौं ।
” सचेतना वृद्दी, महामारी र विपद्का समयमा समग्र रेडियो जगतले निर्वाह गरेको भूमिकाका कारण रेडियोको आवश्यकता र औचित्यता थप पुष्टि भएको छ ।