गाईजात्राको दिन रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक विदा

साबित्रा पौडेल, भाद्र २ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले यहीँ भाद्र ४ गते सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै आज बसेको अध्यक्षस्तरीय बैठकको निर्णयले भाद्र ४ गते मंगलबार गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ ।

गाईजात्रा पर्व रुरुक्षेत्र गाउँपालिकामा मनाइने सामाजिक तथा सांस्कृतिक पर्वमध्ये एक हो ।

गाईजात्राको दिन गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका सम्पूर्ण कार्यालय , स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरू र अन्य संघ संस्थाहरू बन्द रहने छन ।

गाईजात्रा पर्व पितृको सम्झनामा नेपालमा मनाइने विभिन्न चाडपर्वहरूमध्ये महत्वपूर्ण चाडका रूपमा रुरुक्षेत्र गाउँपालिका सहित देशभरका नेवार समुदायहरूले मनाउने मौलिक पर्व हो।

प्रत्येक वर्ष जनै पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्षको प्रतिपदा तिथिदेखि अष्टमीसम्म गाईजात्रा पर्व मनाइने गरिन्छ।

यो पर्वमा मानिसले गाईको रूपमा सजिइ जात्रा गर्ने भएकोले गाईजात्रा भनिएको हो। नेवारीमा ‘सा’ भन्नाले गाई र ‘पारु’ भन्नाले प्रतिपदा हुन्छ।

रुरुक्षेत्र गाउँपालिकाको रिडी,रानीबास, धोबीघाट, बलेटक्सार लगायतका बस्तीमा नेवार समुदायको बाहुल्यता रहेको छ।