गुल्मीको कालीगण्डकीमा खानेपानीको समस्या,ढुवानी गरेर पिउनुपर्ने बाध्यता

तिलाचन पाण्डे/तम्घास, मङ्सिर ११ गते ।

गुल्मीमा अझै पनि गाडीबाट खानेपानी ढुवानी गर्नुपर्ने बाध्यता छ । यस जिल्लाको कालीगण्डकी गाउँपालिका–१ का देउराली, सिरकोट र वडा नं. २ को कोटका बासिन्दा खानेपानी गाडीबाटै ढुवानी गरेर पिउनुपर्ने बाध्यतामा छन् ।

वर्षायाममा चिदियारको मूलबाट पानी ल्याउने गरेका स्थानीयवासी हिउँद लागेपछि मुहान सुक्ने भएकाले अझ टाढाबाट गाडीमा ढुवानी गरेर खानेपानी ल्याउने गरेको स्थानीय युवा तिलक रानाले बताउनुभयो । एक पटक खानेपानी ल्याउँदा गाडीलाई एक हजार पाँच सय रुपियाँसम्म तिर्नुपर्ने अवस्था रहेको ७५ वर्षीय बलबहादुर न्यौपानेले बताउनुभयो ।

यहाँका करिब एक सय घरधुरीले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गरिदिन्छौँ भन्दै नेताले भोट माग्ने गरे पनि अहिलेसम्म खानेपानीको समस्या समाधान हुन नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

पँधेराबाट खानेपानी ल्याउनुपर्ने भएकाले विद्यार्थी समयमा विद्यालय आउन नसक्ने र आए पनि थकान महसुस हुने गरेको देउराली माध्यमिक विद्यालयका शिक्षक लक्ष्मीपति न्यौपानेले बताउनुयो । बस्तीभन्दा तल खानेपानीको मुहान भएकाले लिफ्टिङ गरेर मात्रै पानी खुवाउन सकिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तम्घास गुल्मीले जनाएको छ ।

ठोटनेरी खोलाबाट लिफ्टिङ गरी पानी खुवाउन अघिल्लो वर्षको बजेटबाट ट्याङ्की निर्माण भएको कार्यालय प्रमुख अनुज उपाध्यायले बताउनुभयो । यस वर्ष १५ लाख रुपियाँ बजेट भएको र उक्त बजेटले योजना सम्पन्न गर्न नसकिने उहाँले बताउनुभयो । पर्याप्त बजेट नहुँदा त्यस स्थानमा खानेपानीको समस्या भए पनि समाधान गर्न नसकिएको कार्यालयले जनाएको छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले देउराली र कोटमा रहेको बस्तीलाई खानेपानी सुविधा दिन आफूले प्रयास गरेको बताउनुभयो । यस वर्ष एक घर एक धारा कार्यक्रम सम्पन्न गर्न नसके पनि लिफ्टिङ प्रविधिबाट पानी तानेर केही टोलमा पानी खसाउने योजना रहेको उहाँले बताउनुभयो ।

स्रोत:गोर्खापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *