व्यवसाय दर्ता तथा नवीकरणका लागि रुरुक्षेत्र गाउँपालिकाले शिविर संचालन गर्ने भएको छ ।
गाउँपालिका क्षेत्रभित्र संचालित व्यापार व्यवसाय, सहकारी, बैंक तथा वित्तीय संस्थाका साथै निर्माणमा प्रयोग हुने डोजर लगायतको दर्ता र नवीकरण सजिलो बनाउन शिविर आयोजना गरिएको हो ।
वडा नं १, वडा नं २ को रुद्रवेणी क्षेत्र, ३ नं वडाको तल्लो क्षेत्रका सेवाग्राहीलाई पायक पर्ने गरी यही असोज २५ र २६ गते रिडी बजारमा शिविर संचालन हुनेछ ।
त्यस्तै यही असोज २७ गते वडा नं २ र वडा नं ६ का व्यवसायीलाई पायक पर्ने गरी वडा नं ६ को भन्ज्याङ्गमा संचालन हुने पालिकाले जनाएको छ ।
शिविरमा छुट्नेहरुले भने गाउँपालिकाको कार्यालयमै पुगेर दर्ता तथा नवीकरणको काम गर्नुपर्नेछ ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सेवाग्राहीलाई यथासंभव पायक पर्ने ठाउँमा केन्द्रीत गरी शिविर आयोजना गरिएकाले समयमै आफ्नो व्यवसाय दर्ता तथा नवीकरण गर्न अनुरोध गर्नुभयो ।
उहाँका अनुसार हाल रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत १ हजार १ सय तीस संस्था तथा प्रतिष्ठान दर्ता भई संचालनमा रहेका छन् ।
गाउँपालिकाको आर्थिक ऐन २०८० अनुसार आर्थिक वर्षको तीन महिना असोज मसान्त भित्र व्यवसाय दर्ता तथा नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ ।