माघ १५ , गुल्मी ।
आज ६२ औँ नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी स्वास्थ्यसँग सम्बन्धित संघ संगठनले मनाउँदै छन्।
नर्सहरूको पेसागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना भएको थियो। सोही संस्था खुलेको दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो।
नेपालमा नर्सिङको इतिहास त्यति लामो भने छैन तर अहिले यो पेसा अपनाउनेको संख्या ठूलो छ । नर्सिङ पेसालाई स्वास्थ्य सेवाको उत्कृष्ट र परोपकारी पेसाको रुपमा लिने गरिन्छ। जो कोही सामान्य देखि जटिल प्रकारका स्वास्थ्य सेवा लिएर अस्पताल पुग्ने वा भर्ना हुने बिरामीको लागि सबैभन्दा पहिला २४ सै घन्टा स्वास्थ्य सुरक्षा दिने भनेकै नर्सहरुले हुन्।
सेतो कोटमा मुस्काउँदै २४ घण्टा बिरामीको सेवामा समर्पित हुनु नर्सको कर्म हो। बिरामी घर नफर्कुन्जेल नर्सले कसलाई कुन समय कस्तो औषधि दिने हेक्का नर्सले गरेर सेवा गरी रहेका हुन्छन।
सेतो कोट लगाएर मुसुक्क हाँस्दै सेवामा तल्लिन रहने नर्सहरुको सेवा पाएपछि बिरामीले आधा रोग निको भएको महसुस गर्छन्।विश्वासिलो र मायालु व्यवहार नै नर्सहरुको पहिचान हो। अस्पतालमा नर्सहरु बिरामीका लागि अभिभावक हुन्।
तर पछिल्लो समय अस्पताल पुग्ने बिरामीले नर्सहरुको मायालु व्यवहार र सेवा पाउन छाडिएको गुनासो बाक्लिँदै गएको छ। नर्सहरु स्वयमले पनि त्यो कुरा स्वीकार गरेका छन। यसको प्रमुख कारण भनेको नर्सहरुको लागि हुने सामाजिक सुरक्षा समय सापेक्ष नहुनु रहेको स्वयम यस क्षेत्रका विज्ञहरुले बताउदै आएका छन्।