पाल्पा दरबार परिसर मख्खन टोलमा ढुङ्गा बिछाउने काममा ढिलाइ

पुस १७.,पाल्पा ।

ऐतिहासिक पाल्पा दरबार परिसर मख्खन टोलमा ढुङ्गा बिछाउने काममा ढिलाइ भएको छ । निर्माण कार्य सम्झौता अवधि सकिँदा पनि निर्माण व्यवसायीले काम गर्न नसकेको हो । 

मख्खन टोलको सौन्दर्यीकरण गर्न तानसेन नगरपालिकाले आठ महिनाअघि ५७ वटा घरटहरा हटाएको थियो । २०८० साल असार ९ गतेदेखि ठेक्का दिएर ढुङ्गा छाप्ने काम अघि बढाइएको हो । 

हालसम्म पनि कामले गति लिन सकेको छैन । छ महिनाभित्र काम सकिने गरी नगरपालिकासँग सम्झौता भएको थियो । ठेक्का लिएको निर्माण व्यवसायी एबी बिल्डर्स ग्रुप एन्ड सप्लायर्स काठमाडौँले निर्माण कार्यमा ढिलासुस्ती गरेको छ ।

निर्माण कम्पनीले मख्खन टोलमा ८८ घनमिटर ढुङ्गा छाप्नका लागि ४१ लाख ६९ हजार ६४३ रुपियाँमा सम्झौता गरेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो । समयमै काम सम्पन्न गर्न ताकिता गरे पनि निर्माण व्यवसायीले विविध कारण देखाएर ढिलाइ गरेको भनाइ उहाँको छ । घरटहरा हटाई  समयमा नै ढुङ्गा बिछाउने काम नगर्दा ऐतिहासिक बजार क्षेत्र कुरूप देखिएको छ । 

सडक सौन्दर्यीकरण गर्ने तथा पाल्पा दरबार परिसरलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजनासहित घरटहरा हटाइए पनि काममा भएको ढिलाइप्रति स्थानीयवासी आक्रोशित बनेका छन् । 

सडकका घरटहरा तत्काल हटाउन लगाएर नगरपालिकाले सडक सौन्दर्यीकरणको काममा ढिलाइ गरेको प्रति स्थानीय सन्दीपलाल शाक्यले गुनासो पोख्नुभयो । यतिका महिनासम्म सडक निर्माण तथा दरबार परिसर सौन्दर्यीकरणमा बेवास्ता गरिएको आरोप उहाँको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *