साबित्रा पौडेल, माघ १६ गुल्मी।
मौलिक एवं चर्चित गायक तथा सर्जक प्रसाद खप्तरी मगर बिरामी परेका छन ।
गुल्मीको सत्यवती गाउँपालिका ४ मा जन्मिएका कलाकार मगरको दुईवटै मृगौला पुर्ण रुपमा बिग्रीएका कारण उनी अस्पतालमा भर्ना भएका छ्न ।
उनले यतिबेला टिचिङ अस्पताल महाराजगन्जमा डायलाईसिस गराईरहेका छन ।
डाक्टरको सल्लाह अनुसार उनको छिटोभन्दा छिटो मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोहुनाले आर्थिक सहयोग जुटाउन अपिल गरिएको छ ।
उनकी श्रीमती सरस्वती थापाका अनुसार मृगौला प्रत्यारोपण गर्नका लागि धेरै रकम आवश्यक पर्ने भएकाले सबैमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।
गायक खप्तरी मगर, गुरुङ लगायत जनजाति समुदायमा प्रचलित सोरठीको मौलिक लय खाटी सांस्कृतिक पहिचानलाई कलात्मक रुपमा प्रस्तुत गर्ने सर्जक हुन ।
नेपाली लोक संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका खप्तरीलाई सोरठी, सालैजो, गुल्मीतिर प्रचलित ठाडो भाका जस्ता मौलिक भाकाका बादशाहका रुपमा धेरैले चिन्ने गर्छन् ।
गीत संगीतमा बढेको व्यवसायिता, पश्चिमा संस्कृतिको प्रभाव, नयाँ पुस्ताले चासो नदिँने पुरानो पुस्ता र सरोवारवाला निकायले वास्ता नगर्दा मौलिक गीत लोक हुँदै गइरहेका बेला खप्तरीले निरन्तर रुपमा संस्कृति संरक्षणका लागि प्रयास गर्दै आएका छन् ।