जेठ १३ , गुल्मी ।
सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए ।
अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो । अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ ।
नेपालमा सन् २०१० यता पोलियो रोग देखिएको छैन । तर आजदेखि सरकारले पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान शुरु गर्दैछ । यसको मुख्य कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका आईपीभी खोप लगाउन छुट्नु हो ।
विश्वव्यापी रूपमा अभाव भएका कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप लगाउन पाएका थिएनन् । त्यस बेला खोप नपाएका बालबालिकामा भोलिका दिनमा पनि पोलियो रोगको जोखिम हुनसक्ने भएकाले त्यस्तो जोखिमलाई ध्यानमा राखेर अभियान चलाउन लागिएको हो ।