छत्रकोट गाउँपालिका द्वारा खर्ज्याङ्गमा रहेको पब्लिक लुम्बिनी युनाईटेड हस्पिटलको अनुगमन

पौष ६ गुल्मी/साबित्रा पौडेल :

गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिकाको वडा नं ५ खर्ज्याङ्गमा रहेको पब्लिक लुम्बिनी युनाईटेड हस्पिटलको अनुगमन गरेको छ।

यसअघि हस्पिटलले गाउँपालिकाको कार्यालयमा हस्पिटल दर्ताको लागि निवेदन पेश गरेको थियो।

उक्त निवेदन बमोजिम दर्ता प्रकियाका लागि गाउँपालिकाले “स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धि, कार्यविधि २०८०” बमोजिम अनुगमन समिती गठन गरेको थियो। समितिले आज हस्पिटलको अनुगमन गरेको हो ।

गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको संयोजकत्वमा सदस्यहरु सामाजिक विकास समितिका संयोजक गुणाकर ज्ञवाली, डाक्टर विवेक विराट खनाल, पुष्कर खनाल, सिनियर अहेव सपना टण्डन, शोभा श्रेष्ठ, सदस्य सचिव छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेल लगायतको अनुगमन टोलिले हस्पिटलको स्थलगत अनुगमन गरेको हो ।

गाउँपालिकाको खर्ज्याङ्ग बजारको नदि किनारामा गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लाका नागरिकको सहजताका लागि स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पतालको निर्माण गरिएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनुभयो।

हस्पिटलमा सुविधा सम्पन्न भवन, पुर्वाधार, आवश्यक जनशक्ति, औजार उपकरण लगायतका कार्यविधिका अधिकांश सुचकहरु पुरा भएको पाईएको अनुगमन समितिले बताएको छ।

यसैबीच कतिपय सुचकहरु पूरा गर्न आवश्यक प्रक्रिया सुरु गरेको र आगामी दिनहरूमा सम्पुर्ण सुचकहरु पूरा गरि यस क्षेत्रका नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हस्पिटलका संचालक सरोज पाण्डे र नारायण प्रसाद अर्यालले प्रतिबद्धता जनाउनुभयो।

अनुगमन समितिले हस्पिटल शुभाराम्भको लागि गरेको मेहनत प्रशंसनीय रहेको र हस्पिटल निर्माणको उच्च सम्मान गर्दै यथाशीघ्र अस्पतालको शुभाराम्भ गरि स्वास्थ्य सेवा प्रदान गर्नको लागि अस्पताल परिवारलाई शुभकामना समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *