गुल्मी,पाल्पा,अर्घाखाँची,स्याङ्जा,प्युठान,रोल्पा लगायतका जिल्लामा आगलागी,ठूलो क्षति

बैशाख ९ , गुल्मी । गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, स्याङ्जा , प्युठान , रोल्पा लगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको छ । ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका छन् ।आगलागिबाट ठुलो क्षति भएको छ ।

गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागीले क्षति गरेको हो । आगलागीमा परेर दुईजना घाइते भएका छन् । इस्मा–१ का हिमाल राना र मुसिकोट नगरपालिका–७ का प्रेम राना घाइते भएको र दुवै जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिनुभयो । जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ । डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।
यस्तै , गुल्मीको छत्रकोट गाउँपालिका १ हुगाँमा लागेको आगोबाट १ गोठ जलेर नष्ट भएको छ भने केहि पशुचौपाया मरेका छन ।
हुगाँका वडाध्यक्ष घनश्याम न्यौपानेले दिएको जानकारी अनुसार १ गोठ जलेर नष्ट भएको र केहि पशुचौपाया मरेको तथा घरमा सल्केको आगोलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगोले क्षति गरेको छ । भुमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्कलगायतका गाउँमा गरी झन्डै २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दिपेन्द्र रावलले बताउनुभयो । आगोले गाउँनै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताउनुभयो । क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।
पाल्पाको विभिन्न स्थानमा लागेको आगो निभाउने क्रममा तीन जना घाइते भएका छन् । शनिवार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा रैनादेवी छहरा–१, का ५५ वर्षका टोपबहादुर बुढा गम्भीर घाइते हुनुभएको छ । उहाँको थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिनुभयो ।

सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिवार बिहानैदेखि आगलागी भएको थियो । आगलागीबाट स्थानीय भरिवश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको छ । सिद्धेश्वर क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउने सकेको छैन ।

यस्तै माथागढी–४,जामुनडाँडामा आगो निभाउने क्रममा स्थानीय ६५ वर्षका पूर्णबहादुर काम्मु घाइते हुनुभएको छ । काम्मुको अवस्था भने सामान्य रहेको माथागढी गाउँपालिकाका प्रवक्ता शङ्कर दर्लामीले जानकारी दिनुभयो । स्थानीय खमीसरा काम्मुको गोठबाट सल्केको आगोले पाँच जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो । घर गोठमा लागेको आगो नियन्त्रणमा आए पनि उक्त आगो जङ्गलमा पसेको र अझैँ नियन्त्रणमा आउन नसकेको दर्लामीले जानकारी दिनुभयो ।

यसैबिच जिल्ला सदरमुकाम तानसेनको बतासे डाँडा, श्रीनगरडाँडा, धरम पानीलगायतका क्षेत्रमा लागेको आगो पूर्ण रूपमा नियन्त्रण आएको छैन । बगनासकालीको चिर्तुङ्धारा क्षेत्रमा लागेको आगो, रिव्दीकोटको विभिन्न स्थानमा लागेको आगो पनि नियन्त्रणमा आउन नसकेको स्थानीय बासिन्दाले जनाएका छन् । शनिवार बेलुकीदेखि लागेको आगो आइतबार बिहान पनि निभाउने प्रयास भइरहेको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो ।

यस्तै स्याङ्जा , प्युठान , रोल्पा लगायतका ठाउँमा पनि आगलागिबाट ठुलो क्षती भएको छ ।


त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दन गाउँपालिका–६ पडरीमा अस्ति शुक्रवार भएको आगलागीमा १४ जनाको घरगोठ जलेको थियो । त्यहाँ हिजो फेरी आगो फैलिएको थियो । विभिन्न ठाउँमा लागेको धेरैजसो आगो नियन्त्रणमा लिएको र क्षतिको विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *