बैशाख ८ , गुल्मी । गुल्मीमा शुक्रबार दिउँसो देखि जिल्लाका बिभिन्न बन जंगलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
गुल्मीदरबार गाउँपालिका ३ र ४ को बिचमा पर्ने बनमा आगलागी हुँदा बिद्युत प्राधिकरणको बिरबास सव स्टेशनको स्टोरको सामग्री जलेर दुई करोड भन्दा बढिको क्षति भएको बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए ।
त्यस्तै शनिवार दिउँसो जिल्लाभर हावाहुरी संगै विभिन्न स्थानमा आगोलागी भएर गाउँवासी त्रसित बनेका छन । धुर्कोट गाउँपालिका ६ को धुरको बनमा आगोलागि हुँदा कैयौं घर गोठहरु उच्च जोखिममा रहेका छन ।
यस्तै , इस्मा गाउँपालिकामामा डढेलोमा परेर दुईजना घाइते भएका छन् । सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटाभन्दा धेरै घरगोठ पनि जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ को सामुदायिक वनमा ठूलो डढेलो लागिरहेको छ ।
डढेलोका कारण एकजना ट्याक्टर चालक र एकजना डोजर चालक घाइते भएका गुल्मीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनुभयो । डढेलो बस्तीमा पस्दा अहिलेसम्म १५ वटा घर, पसल र गोठ जलेका छन् ।
आगो निभाउन कोशिस गरे पनि निकै ठूलो भएको र हुरी चलिरहेका कारण निभाउन समस्या भएको डीएसपी पोख्रेलले बताउनुभएको छ । गुल्मीका अरू चार ठाउँमा पनि ठूलो डढेलो लागेको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले तीन वटै सुरक्षा निकाय परिचालन गरिएको तर पर्याप्त नहुने भएकोले आम नागरिक जुट्न अपिल गर्नुभएको छ ।