साप्ताहिक अभियान अन्तर्गत २३ हजारभन्दा धेरै व्यक्तिगत घटना दर्ता

बैशाख ८ , गुल्मी । सरकारले सञ्चालन गरेको घटना दर्ता अभियानअन्तर्गत पञ्जिकरण सम्बन्धी २३ हजार जनाभन्दा धेरै घटना दर्ता भएका छन् ।

वैशाख १ गतेदेखि हिजोसम्म सञ्चालन गरेको अभियानअन्तर्गत १४ हजार एक सय ६९ जन्म, चार हजार एक सय छ वटा विवाह, तीन सय १० वटा सम्बन्धविच्छेद, एक हजार आठ सय ५० बसाइँसराइ र दुई हजार आठ सय ४१ मृत्यु गरी २३ हजार दुई सय ७६ वटा घटना दर्ता भएका पञ्जीकरण शाखाका निर्देशक दिलकुमार तामाङले जानकारी दिनुभयो ।

वैशाखको पहिलो हप्तामा सचेतनाका लागि अभियान सञ्चालन गरे पनि कार्यालय खुल्ने दिनमा सधैंभरी घटना दर्ता गर्न सकिने तामाङले बताउनुभयो ।

यसैबीच कानुनी पहिचान नहुँदा धेरै सडक बालबालिकाको घटना दर्ता हुन सकेको छैन । उनीहरुको घर तथा अभिभावकको पहिचान नहुँदा घटना दर्ता गराउन समस्या रहेको सडक बालबालिको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था ‘साथसाथ’ ले जनाएको छ ।

सडक बालबालिकाको जन्मदर्ता गराउनका लागि पालिकाबाट पहल गरिरहेको भए पनि कानुनी पहिचान दिलाउन समस्या रहेको संस्थाका कार्यक्रम व्यवस्थापक कविता शाहले बताउनुभयो । नागरिकता सम्बन्धी ऐन २०६३ (पहिलो संशोधन २०७९) जारी भएपछि एकल महिलालाई नागरिकता बनाउन सजिलो भए पनि बाबु आमा दुबैको पहिचान नभएका सडक बालबालिकाका लागि पहिचान गर्ने व्यक्ति नहुँदा कठिनाइ रहेको छ । अभिभावकविहीन बालबालिका कति छन् भनेर सरकारसँग पनि यकिन विवरण छैन ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *