
साबित्रा पौडेल , फागुन ७ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकामा यहीँ फागुन २१ गतेदेखि २५ गतेसम्म राष्ट्रिय कार्यक्रम अन्तर्गतको दादुरा रुबेलाको खोप अभियान संचालन हुने भएको छ ।
गाउँपालिका भित्र रहेका ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिन लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिनुभयो ।
सोही सन्दर्भमा गाउँपालिकाको स्वास्थ्य शाखाले आइतबार दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पोख्रेलले कार्यक्रमको बारेमा प्रकाश पार्दै पालिकाका २९ खोप केन्द्रबाट करिब १ हजार बालबालीकालाई दादुरा–रुवेलाखोप दिईने बताउनुभयो
उहाँले ठिक समयमा खोप लगाउन सके रोग उन्मुलन गराउन सकिने बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले खोप अभियानलाई सफल बनाउन जिल्ला भित्रका सबै स्वास्थ्यकर्मीलाई तालिम दिईसकेको बताउनु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष गुणाखर ज्ञवाली , जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य लगायतको उपस्थिति रहेको थियो भने अभिमुखिकरण कार्यक्रमको संचालन सिनियर अहेव सपना टण्डनले गर्नुभएको थियो ।
जिल्लामा यहीँ फागुन १६ गतेदेखि २५ गतेसम्म दादुरा रुबेला विरुद्धको खोप अभियान संचालन हुँदै छ ।