सनातन धर्मसापेक्ष नेपाल विषयक विचारगोष्ठी सम्पन्न

उमेश घिमिरे , चैत ४ काठमाडौँ ।

काठमाडौँ स्थित वाल्मीकि विद्यापीठको सभाकक्षमा प्रजातन्त्रवादी प्राध्यापक संघ, वाल्मीकि इकाइद्वारा सनातन धर्मसापेक्ष नेपाल विषयक विचारगोष्ठी सम्पन्न भएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष मुरलीधर दाहालको सभाध्यक्षता, सनातन धर्मसापेक्ष नेपाल महाअभियानका संयोजक, पूर्वमन्त्री , माननीय शङ्कर भण्डारीको प्रमुखातिथ्य , पूर्वमन्त्री तथा नेपाल वैदिक महर्षि फाउन्डेसनका अध्यक्ष श्री दीपक प्रकाश बास्कोटा , ने.का.की नेत्री डा. डिला सङ्ग्रौला, नेसंवि केन्द्रीय प्राध्यापक संघका वर्तमान तथा पूर्व सभापतिज्यूहरू , वाल्मीकि विद्यापीठका प्राचार्य तथा सहप्राचार्यहरू लगायत विविध विभागका प्राध्यापक, बुद्धिजीवी, पत्रकार आदिको विशेष सहभागिता रहेको उक्त समारोहमा मोदनाथ खनालले ´सनातन धर्मसापेक्ष राष्ट्रको महत्त्व र आवश्यकता` शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै खनालले मानव भएको ठाउँमा सनातन भएको बताउनुभएको थियो । उहाँले भन्नुभयो “सनातन जीव , जगत्सँग एवं समग्र प्राणीमात्रको जीवनपद्धतिसँग सम्बन्धित छ । सनातन भनेको मानवको मूल्य र पहिचान हो । जहिलेदेखि मानवजातिको उत्पत्ति भयो, त्यस मानवजातिको जीवन व्यवस्थितिका लागि वेदको विकास गरियो । वेदमा उल्लेख भएको आदर्श चिन्तन तथा धर्म नै सनातन धर्म हो । वैदिक सनातन सभ्यता सबै सम्प्रदायको छानो हो , सबै धर्मको मूल नै सनातन धर्म हो । विश्वमा जति पनि धर्म संप्रदाय विकसित छन् ती सबै सनातनका हाँगाबिँगा हुन् । त्यसैले मानवीय अस्तित्व , पहिचान र मूल्य मान्यताको संरक्षणका लागि वैदिक सनातन धर्मको संरक्षण हुनुपर्छ । सनातन धर्म भनेको शाश्वत , नित्य तथा अखण्ड मानव धर्म हो । सनातन धर्मको उद्गमस्थल हाम्रै नेपाल भूमि हो। नेपालका प्रत्येक पहाड डाडाकाँडा , चुचुरामा ब्रह्माण्डीय ऊर्जा छ । त्यो ऊर्जाबाट नै हामीले जीवन सार्थक बनाउन सक्दछौ । द्यौ: शान्तिरन्तरिक्षं शान्तिराप:शान्ति:.. जस्ता वेदमन्त्रले द्युलोक , अन्रिक्षलोक, पृथिवीलोक सर्वत्र शान्तिको कामना गरेको छ । यसलोकमा पनि पृथिवी, जल, वायु , वनस्पति आदि सर्वत्र शान्ति तथा स्वस्थताको कामना गरेको छ । हो यही नै सनातन धर्म हो र यो नै सम्पूर्ण मानवजातिका लागि कल्याणकारक, हितकारक तथा सुखशान्तिप्रदायक सर्वजनग्राह्य धर्म हो ।”

एष धम्मो षणातन:` भन्ने बौद्धधर्मलाई समेत सीमित राजनीतिक स्वार्थवशात् वा विदेशी शक्तिको प्रभावबाट भिन्नै धर्म भनेर सनातनधर्मबाट विभाजन गर्ने र आपसमा फुटाउने , जुधाउने , लडाउने जुन दुस्प्रयास नेपालमा भइरहेको छ , यसबाट सम्पूर्ण सनातनी तथा ॐकारपरिवार सचेत हुनुपर्ने र एकीकृत भई त्यस्ता षड्यन्त्रबाट बहकिन नहुने अवधारणा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

“ब्रह्माण्डीय ऊर्जाले सम्पन्न नेपालका सबैभागमा देवताको बास भएकाले नेपाल देवभूमि, तपोभूमि, ज्ञानभूमि तथा साधनाभूमि हो । सबै ऊर्जा चाहने विश्वका मानवजातिलाई नेपालमा बोलाएर साधना गराउन वा भ्रमण अवलोकन गराउन सक्यौँ वा धार्मिक पर्यटन विकास गर्न सक्यौँ भनेमात्र नेपालको समृद्धि हुन्छ । त्यसमा नै हाम्रो पहिचान तथा विशिष्टता रहन्छ । सनातन पूजाआजाकोमात्र विषय नभएर जीवनसँग गाँसिएको छ । हाम्रो राष्ट्रियताको मूल नै सनातन धर्म हो । सनातनदेखि बाहिर कुनै मूल्यमान्यता छैन , किराँत र बौद्धजस्ता धर्मसम्प्रदाय पनि सनातनकै शाखाप्रशाखा हुन् । कम्निस्टले धर्मलाई अफिम भनेको पनि सनातन धर्मलाई भनेको होइन, आफ्नो अस्तित्व, जीवनको सुरक्षण तथा शरीरादिको स्वस्थता वा पाञ्चभौतिक पदार्थको अस्तित्व वा तिनमा शान्ति वा समन्वय चाहने कम्निस्ट कसरी सनातन सभ्यताका विरोधी हुन सक्छन् र ? भन्ने प्रश्न गर्दै कम्निस्ट विचारधारासमेत ´लोका: समस्ता: सुखिनो भवन्तु, सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दु:खभाग्भवेत् ।। ´उदारचरितानां तु वसुधैव कुटुम्बकम्` जस्ता वैदिक आदर्शभित्र सबै माक्सवाद, समाजवाद , माओवाद , लेलिनवादजस्ता राजनीतिक सिद्धान्तहरू अटाउन सक्छन् वा सनातनदेखि पृथक् हुन सक्दैनन् । सबैको हित चाहने कल्याणको मार्ग प्रदर्शन गर्ने , उदात्त चेतनालाई प्रवाहित गर्ने सनातन धर्मको उद्गमस्थल नेपालमा केही नेताले सत्ता र सम्पत्ति आर्जनका लागि विदेशीको स्वार्थपूर्ति गर्न जनभावनाविपरीत धर्मनिरपेक्षता लादेका छन् अब हामी आफ्नो देशको अस्तित्व र अस्मिता जोगाउनका लागि सनातन धर्मसापेक्ष राष्ट्र नेपाल बनाउनका लागि जस्तोसुकै सङ्घर्षमा उत्रनु पर्छ “

प्रस्तुत कार्यपत्रमाथि नेसंवि केन्द्रीय प्राध्यापक संघका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछानेले प्राज्ञिक टिप्पणी गर्नुभएको थियो । “वाल्मीकिमा सत्रवर्ष सर्वदर्शन प्राध्यापन गरेका खनालको कार्यपत्रले समस्त नेपाली जनको मनोभावलाई अभिव्यक्त गर्न सफल छ भन्दै सनातन धर्म र मानवसभ्यता अलग नभई एउटै हुन् , धर्मनिरपेक्षतालाई लादेर राज्यलाई खोक्रो पार्ने काम अहिलेको राज्यव्यवस्थाले गरेको छ , ´पुत्रो$हं पृथिव्या:वेदमन्त्रले समग्र पृथिवीलाई नै मानवजातिको आमा मानेको छ , ´वसुधैव कुटुम्बकम्ले समस्त विश्ववासीलाई कुटुम्ब वा आफन्त ठानेको छ । नेपाललाई नेपाल बनाउने तत्त्व नै सनातन धर्म हो” भन्ने कार्यपत्रको निचोड रहेको विचार लामिछानेले राख्नुभएको थियो ।

´निर्गता-अपेक्षा यस्मिन् तत् (तादृशं राष्ट्रम्) निरपेक्षराष्ट्रम्` र ´अपेक्षा विद्यते यस्मिन् तत्(तादृशं राष्ट्रम्) सापेक्षराष्ट्रम्` भन्ने व्युत्पत्ति अनुसार धर्मको अपेक्षा नगर्ने नेपाल राष्ट्रको हामी परिकल्पना समेत गर्न सक्दैनौँ । जतिबेला धर्मदर्शनका ज्ञाता डा.स्वामी रामानन्द गिरिज्यूले टुँडीखेलमा आयोजित विशाल जनसभामा सहभागी बनेर तिमीहरू राजनीति गर , देशको विकास गर , मन्त्री प्रधानमन्त्री बन तर धर्मका विषयमा तिमीहरू गलत निर्णय नगर , धर्मका बारेमा निर्णय गर्ने अधिकार धर्मदर्शनका आचार्यलाई नै छाडिदेऊ , हस्तक्षेप नगर भन्ने उद्घोष गर्दा कसैले ध्यान दिएन , आफू सत्तामा टिक्नकै लागि प्रमुख राजनीतिक दलहरू मिलेर जनभावनाविपरीत धर्मनिरपेक्ष राष्ट्र भनी संविधानमा लेखियो जसका कारण देशमा आपसी विद्वेष र वैमनस्यको भाव विकसित हुँदै गृहयुद्ध चल्न थालिसकेको छ र विषम परिस्थिति सिर्जना भएको छ । जजसले धर्मनिरपेक्ष राष्ट्र बनाउन आँखा चिम्लेर हस्ताक्षर गरे तिनीहरू नै अहिले भित्रभित्रै गलत गरेको अनुभव गरिरहेका छन् , अन्तर्मनमा गलत गरिएछ भन्ने महसुस हुँदाहुँदै पनि स्वार्थवशात् धर्मनिरपेक्षताकै पक्षमा वकालत गरिरहेका छन् । नेतृत्वले आफ्नो अन्तरात्मामा जुन चित्कार छ त्यही नै निष्कपट अभिव्यक्ति दिन थाल्ने हो भने अविलम्ब नै नेपाल पुन: सनातनधर्म राष्ट्रका रूपमा स्थापित हुने छ तर के गर्नु धर्मसंस्कृतिप्रति अलिकति उदार ठानिएको नेपाली काङ्ग्रेस नै धर्मनिरपेक्षको सबैभन्दा बढी बफादार पार्टीका रूपमा उभिएको छ , यो न‌ै नेपाल र नेपाली जनताका लागि विडम्बना बन्न पुगेको छ भन्ने विचार प्रा. डा. लामिछानेले राख्नुभएको थियो ।


कार्यक्रममा वाल्मीकिका बौद्धदर्शन विभागका उपप्राध्यापक शान्तरत्न बज्राचार्यले जहाँ बौद्धचैत्य छ त्यहाँ शिवलिङ्गको स्थापना छ अनि भैरवको पूजा शिवसँगै हुन्छ अनि बौद्धधर्म र हिन्दूधर्म कसरी अलग भनियो भन्ने म त जान्दिन भन्दै हिन्दूधर्म भन्दा सनातन धर्म भनेर अघि बढौँ भन्ने विचार राख्नुभएको थियो । धर्मलाई छाडेकैले नेपाली काङ्ग्रेस अधोगति भएको मान्ने नेसंवि केन्द्रीय प्राध्यापक संघका पूर्वसभापति प्रा.डा. शान्तिकृष्ण अधिकारीले हाम्रा नेता ´अपवित्रो पवित्रो वा` भनेर गङ्गाजल अचाउन छाडेर वान्कीमुनको शुक्रकीटमिश्रित होलीवाइन पिउन थालेको भन्दै नेतृत्ववर्गप्रति कटाक्ष प्रहार गरेका थिए र आफूले धर्मकै सम्बन्धमा दर्जनौ लेख रचना र प्रकाशन गर्दै प्राध्यापकीय धर्मनिर्वाह गरेको बताउँदै सबै विद्वज्जनलाई सनातन धर्मका सम्बन्धमा लेख रचना सिर्जना गरी जनजागरण फैल्याउन आग्रह गर्नुभयो ।

त्यसैगरी उक्त समारोहमा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालले विश्वलाई एकतामा जोड्ने बाटो पूर्वजले देखाएका थिए, ´यत्र विश्व भवत्येकनीडम्` ´ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्` जस्ता वेदमन्त्रले सबैमा एकत्वसिद्धिमा जोड दिएका छन् , क्रिस्चियन धर्मका प्रवर्तक ईसामसीहले समेत सोह्रवर्षसम्म भारतमा बसी पौरस्त्य धर्मदर्शन अध्ययन गरेको इतिहासबाट अवगत हुन्छ । ´यतो यत: समीहसे ततो न अभयं कुरु`जस्ता मन्त्रमा सबैमा सबैप्रकारले अभयानन्द प्राप्त होस् भन्ने उदात्त चेतना अभिव्यक्त छ , त्यस्तो ज्ञानराशि वेदलाई मूल प्रमाण मानी अघि बढेको सनातन धर्म तथा सनातन सभ्यताको छानामा सबै धर्म र सम्प्रदाय अटाउन सक्ने भएकाले सनातन धर्म विश्वकै शाश्वत मानव धर्म हो भन्ने विचार राख्नुभएको थियो ।

नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका उपाध्यक्ष प्रा.डा.कृष्णकान्त पराजुलीले सनातन धर्मलाई राजनीतिमा मात्र होइन पर्यटनमा समेत जोडेर अघि बढ्नु पर्ने विचार राख्नुभएको थियो । समारोहमा समुपस्थित सबैमा स्वागत मन्तव्य राखेका प्रा.डा. धनेश्वर नेपालले ऋषिमुनिको देश नेपालबाट सनातन धर्म संस्कृति सिद्ध्याउनका लागि पाश्चात्य योजनाबद्ध ढङ्गले अघि बढेको आरोप लगाउँदै परिवर्तित तथाकथित नयाँशिक्षा (२०२८) लागू भएपश्चात् नेपालको मौलिकता , संस्कार संस्कृति नाश हुँदै गएको र नयाँशिक्षाले धर्म संस्कारविहीन जनशक्तिको उत्पादन हुँदै गएको तथ्यमाथि प्रकाश पार्दै ´धारणाद्धर्ममित्याहु:` भन्ने धर्मको परिभाषालाई अङ्गीकार गर्दै धर्मलाई व्यवहारमा उतार्न सबै जागरुक हुनुपर्ने भन्दै सनातन धर्मसापेक्ष राष्ट्र निर्माणका लागि सबै बुद्धिजीवीले योगदान गर्नु पर्ने धारणा राख्नुभएको थियो ।


समारोहमा विशिष्ट अतिथिका रूपमा सहभागी नेपाली काङ्ग्रेसकी नेत्री डा.डिला सङ्ग्रौलाले तीतेपाती रोपे तीतेपाती नै उम्रन्छ र सुन्तला रोपे सुन्तला नै उम्रन्छ जसरी त्यसैगरी नेपालमा धर्मनिरपेक्षतारूपी बीस रोपिएकाले विष नै फल्न थालेको भन्दै सनातन सापेक्ष राष्ट्र निर्माणका लागि अब आफू देशैभर अभियान चलाउन सक्रिय रहने भन्दै सबैमा समानता कायम गर्ने सनातन धर्मसापेक्ष मुलुक बनाउनका लागि आ-आफ्नो क्षेत्रबाट पहल गर्न आग्रहसमेत गर्नुभएको थियो । महर्षि वैदिक फाउण्डेसन , नेपालका अध्यक्ष तथा पूर्वमन्त्री दीपकप्रकाश वास्कोटाले नेपाललाई विश्वकै एक ज्ञानशालाका रूपमा विकास गर्नका लागि सनातन धर्मको जगका रूपमा रहेको गुरुकुल परम्पराको विकास र संरक्षण संवर्धनमा जोड दिनु पर्ने धारणा राख्नु भयो । सन् १९७४ मै महर्षि योगीले नेपालले विश्वलाई लिड गर्न सक्ने विचार प्रवाह गर्नु भएको स्मरण गर्दै ज्ञानको मुहान गुरुकुलको संरक्षणमा यथाशक्य योगदान गर्न वास्कोटाले सबैलाई गर्नुभएको थियो ।


विचारगोष्ठीका प्रमुखअतिथि तथा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता पूर्वमन्त्री शङ्कर भण्डारीले वेदिक सनातन धर्म र नेपाल राष्ट्रको अन्योन्याश्रित सम्बन्ध भएकाले आफू सनातन धर्मसापेक्ष नेपालका पक्षमा उभिँदै आएको जानकारी दिँदै आफ्नो पहलमा धर्मको मुद्दाले पार्टीको महासमितिमा प्रवेश पाएको र देशको राजनीति तरङ्गित वा प्रभावित भएको छ , महासमितिमा यठान भएको यस पक्षलाई सकारात्मक मान्नु पर्ने भन्दै अब सबै धर्मसंस्कृतिविद् गुरु तथा प्राध्यापक बुद्धिजीवीको सल्लाह, परामर्श, शुभकामना, शुभाशीर्वाद नित्यनिरन्तर ग्रहण गर्दै सास रहुन्जेल कुनै डर, धम्की, लोभलालचमा नपरी आफू लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सनातन धर्म र बौद्धधर्म , किराँत धर्मका बीच कुनै भेदभाव छैन तर पनि विदेशीको इसारामा फुटाउने, जुधाउने र आपसमा लडाउने जुन खृल भइरहेको छ त्यसलाई समस्त ॐकार परिवार सचेत र एक भई परास्त गर्नु पर्ने धारणा राखेका भण्डारीले धर्मनिरपेक्ष राष्ट्र घोषणापश्चात् समाजमा हत्या, हिंसा, बलात्कार , आत्महत्या, भ्रष्टाचार , दुराचार , सम्बन्धविच्छेद , विदेशपलायन जस्ता घटनाहरू दिनानुदिन बढ्दै जानुमा मूलकारण हामी धर्मछाडा भएकाले हो । शान्तिका दूत गौतम बुद्ध जन्मिएको देशमा विदेशीको स्वार्थबाट प्रेरित भई ०५२ देखि १० वर्षे सशस्त्र लडाइँ चलाएर हामीले ठूलो पुरुषार्थ गरेको भन्ने भाष्य निर्माण गर्यौँ , जब हामी धर्म पालना नै गर्दैनौ तब देशमा कहाँबाट अमनचयन शान्ति स्थापना हुन सक्छ र ? २०२८ को शिक्षानीतिले त हामी झन बरबाद भयौँ , नयाँ शिक्षा विधेयक छलफलमा छ त्यहाँ विद्यालयीय पाठ्यक्रममा धर्मदर्शनप्रधान संस्कृत पाठ्यक्रम लागू गर्न पहल गर्नु जरूरी छ भन्ने विचार राख्नुभएको थियो । वस्तुत: सनातन धर्म भनेको दल वा पार्टीभन्दा माथिको विषय भएकाले सबै नेतृत्व तथ बौद्धिक व्यक्तित्वले स्वधर्म र राष्ट्र जोगाउन अघि बढौँ भन्ने आह्वान गर्नुभएको थियो ।

सयौँ प्राध्यापक , पत्रकार , बुद्धिजीवीको विशेष सहभागितामा सम्पन्न उक्त गोष्ठीको उद्घोषण प्रजातन्त्रवादी प्राध्यापक संघ, वाल्मीकिका सचिव डा. रामप्रसाद पौडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *