साबित्रा पौडेल , माघ १,गुल्मी:
चार धाममध्ये एक धामका रुपमा परिचित रुरु क्षेत्रमा सोमबार विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ। गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगम स्थल रुरु (रिडी) क्षेत्रमा माघेसंक्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्ने र यहाँ रहेका मठ मन्दिरहरुमा पूजाआजा गर्ने दर्शनार्थीको घुईंचो विहानैदेखि लागेको हो।
माघे संक्रान्तिका दिन गण्डकीमा स्नान गर्ने र यहाँ रहेका विभिन्न धार्मिक मठ मन्दिरमा पूजाआजा गरेमा जीवनमा गरेका सम्पूर्ण पाप नष्ट भएर जाने तथा मोक्ष प्राप्त हुने जनविश्वास छ।
माघे संक्रान्तिको अवशरमा कालीगण्डकीमा स्नान गर्न र ऋषीकेशव मन्दिरको दर्शन गर्नका लागि गुल्मी लगायत पाल्पा, स्याङजा, अर्घाखाँची, प्युठान, बाग्लुङ्ग, रुपन्देही, नवलपरासी दाङ्ग, कपिलबस्तु चितवन, काठमाडौं, पर्वत लगायत जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरु यस क्षेत्रमा आउने गर्दछन।
नेपालमा रहेका चारधाममध्ये प्रख्यात रहेको एक रिडी धाममा आएर कालीगण्डकीको सङ्गम श्रीकृष्ण गण्डकीमा नुहाएर तर्पण गरे पितृ पक्षले मोक्ष पाउने धार्मिक विश्वास रहेकाले पनि मानिसहरुको घुईंचो लाग्ने गर्दछ।
गुल्मी जिल्लाको पवित्र तिर्थस्थल रिडीमा आज देखी माघे सङ्क्रान्ति मेला ६ दिनसम्म लाग्छ ।
मेलाको पहिलो दिन बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गरी हृषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लाग्ेको छ । कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन यो मेलामा आउँछन !
यस क्षेत्रमा माघेसंक्रान्ति बाहेक ठूलो एकादशी, प्रत्येक संक्रान्ति, ग्रहण एकादशी, औंशी एकादशीमा गण्डकीमा स्नान गरी ऋषिकेशको दर्शन गर्न श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने रुरु क्षेत्र मेला ब्यबस्थापन समितिले जनाएको छ।
धार्मिक र साँस्कृतिक रुरुधामलाई धार्मिक पर्यटनसँग जोड्न परम्परागत रूपमा चल्दै आएको माघे सक्रान्ति मेला सुरु भएको छ ।
रिडीको गुल्मीतर्फको भागमा रुरु फ्रेण्ड्स क्लब र एफसी क्लब रिडी बजारको संयुक्त आयोजनामा साँस्कृतिक कार्यक्रमसहित, बालउधान, कृषिमेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनीसहित मेलाको भव्य तयारी गरिएको रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष शोभित थापाले बताउनुभयाे ।
साथै माघ संक्रान्तिको अवसरमा कालिगण्डकी नदिमा गंगा आरती (गन्डकी आरती) पनी हुने भएको छ ।
जेठी संक्रान्ति, माहिली र कान्छी संक्रान्ति गरि तीन दिनसम्म लाग्ने रिडी मेला भर्नका लागि टाढा–टाढाका मानिसहरु आइतबारदेखि नै रिडीमा आएका छन। यता धार्मिकसँगै रिडीमा सांस्कृतिक तथा ब्यापारिक महोत्सव सुरु भएको छ। त्यस्तै मेलाको अवसरमा रुरु क्षेत्रमा कृषि प्रदर्शनी पनि सुरु भएको छ।
खासगरी रिडी मेलामा राडी,पाखी, ढक्की, कपडा–लत्ता, डोको, नाङ्लो बेच्न छिमेकी जिल्लाबाहेक रुकुम, रोल्पा, पर्वत, जुम्ला, बुटवल, भैरहवा, भारतको रूपेडियाबाट समेत व्यापारी आएका छन। यहाँ आएर स्नान र दर्शन कार्य सम्पन्न गरेमा देह पुण्य हुने, मुक्ति प्राप्त हुने विश्वास छ। यस क्षेत्रमा मृतकहरूको अस्तु सेलाउन पनि मानिसहरु आउने गर्दछन।
त्यसो त पाल्पा क्षेत्रमा पनि मेलाको तयारी छ भने स्याङ्जा क्षेत्रमा भलिबल प्रतियोगितासहितको मेला लाग्ने भएकाले यो वर्ष गुल्मी स्याङ्जा र पाल्पामा लाग्ने विविध मनोरन्जनसहितको अवलोकन गर्न रुरुधाममा निर्माण सम्पन्न भएको तीनमुखे पुलले विशेष महत्व राख्ने छ ।