दिपा पन्थ, मंसिर २९ गुल्मी :
छत्रकोट गाउँपालिकाको अन्तिम चरणमा रहेको स्थानीय पाठयक्रमको रायसुझाव लिन आज एक बृहत कार्यशाला सम्पन्न भएको छ । आज छत्रकोट गाउँपालिकाले “हाम्रो छत्रकोट” नामक स्थानीय पाठ्यक्रम निर्माण कार्यशालाको आयोजना गरी पाठ्यक्रमको ढाँचा एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ ।
कार्यक्रममा छत्रकोट गाउँपालिका भित्रको समग्र परिवेशलाई संलग्न गरी निर्माण गर्न लागिएको स्थानीय पाठक्रमको ढाँचा तथा त्यसले पुर्याउने सिकाइ उपलब्धि, समाबेश गरिएका बिषयवस्तुहरु र राय सुझाव सङकलन जस्ता विविध गतिविधि माथी छलफल भएको थियो ।
राष्टिय पाठ्यक्रम प्रारुप मापदण्ड अनुसार गाउँपालिकाले कक्षा आठसम्म प्रत्येक कक्षामा एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्न लागेको हो।
यसका लागि वि.सं. २०७८ मा उत्तर कुमार पराजुलीको अध्यक्षतामा स्थानीय पाठ्यक्रम निर्माण समिती बनेको थियो ।
पराजुलीले पाठ्यक्रममा छत्रकोट गाउँपालिकाको ईतिहास देखि नैतिक शिक्षा सम्म समावेश गरिएको बताउनुभयो ।
गाउँपालिकाका शिक्षा अधिकृत टिकारम आचार्यको संयोजकत्वमा बनेको मस्यौदा लेखन समितीले प्रारम्भिक मस्यौदा तयार पारेपनि केही समय यसले गति लिन सकेको थिएन ।
त्यसबीचमा विषयविज्ञ र सरोकारवालासँग विभिन्न चरणमा भएका छलफल र अन्तरक्रियापश्चात प्रारम्भिक मस्यौदा तयार भएको थियो।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी ,विभिन्न क्याम्पसका क्याम्पस प्रमुखहरु , छत्रकोट गाउँपालिकाका सम्पूर्ण वर्तमान तथा नि.वर्तमान जनप्रतिनिधिहरु , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, पुर्व तथा वर्तमान विभिन्न बिधालयका अध्यक्षहरु तथा प्रधानाध्यापक, शिक्षक प्रतिनिधिहरु, बिद्यार्थी प्रतिनिधि , लगायत स्थानीय बुद्दिजिविहरुको सहभागीता रहेको थियो ।
उनीहरुले स्थानिय भेषभुषा,कला संस्कृती, स्थानिय खेल ,चाडपर्व तथा परम्पराका बिषय समेट्न सुझाव दिएका थिए ।
त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाका उप–प्राध्यापक डाक्टर टंक पन्थले मस्यौदाको टिप्पणी गर्दै आधुनिक शिक्षणको आवश्यकता र भाषिक शुद्धतालाई कायम राख्न जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले पाठ्यक्रमको मस्यौदाले गाउँमै पढ्ने बतावरण तयार गर्ने बिश्वास ब्यक्त गर्नुभएको छ।
यस्तै, प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुनले स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नु भएको थियो ।