गिद्ध संरक्षणका लागि गुल्मीको रेसुङ्गामा‘गिद्ध रेष्टुरेन्ट’

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर २८ गते ।

 गिद्धहरूको संरक्षणका लागि गिद्ध रेष्टुरेन्ट सञ्चालन गरिने भएको छ । रेसुङ्गा क्षेत्रको चौतारामा स्थानीय गाईहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न २०४२ सालदेखि नै गौशाला स्थापना गरी गाई पालन गरिँदै आएको छ । 

निकट भविष्यमै गौशाला क्षेत्रमै गिद्ध संरक्षण गर्नका लागि ‘गिद्ध रेष्टुरेण्ट’ सञ्चालन गरिने लक्ष्य रहेको रेसुङ्गा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिनुभयो । गिद्धलाई मरेका पशुहरूको आहारा खुवाउन ‘गिद्ध रेष्टुरेन्ट’ सञ्चालन गरिने लक्ष्य राखिएको उहाँले बताउनुभयो । 

यही मङ्सिर २२ गतेदेखि २४ गतेसम्म पोखरामा भएको राष्ट्रिय स्तरको नेपाल पन्क्षी संरक्षण सञ्जालको सातौँ कार्यशाला गोष्ठीमा सहभागी भएर आउनुभएका उहाँले आगामी एक वर्षभित्रमा अवैध पक्षी व्यापार नियन्त्रण गर्ने, स्थानीय साझेदार संघसंस्थाहरुसँग समन्वय गरी चराका लागि सुरक्षित वासस्थानको प्रवर्द्धन गर्ने प्रतिबद्धता जाहेर गरिएको बताउनुभयो । 

त्यस्तै, चरा र उनीहरूको वासस्थानको संरक्षणका लागि स्थानीय र प्रादेशिक सरकारसँग समन्वय गर्ने र विकास परियोजनाहरूलाई अझ बढी चरामैत्री बनाउनका लागि सचेतना फैलाउने तथा पैरवी गर्ने लगायतका प्रतिबद्धता समेत जाहेर गरिएको उहाँले बताउनुभयो । 

सोही अनुसार रेसुङ्गा संरक्षण समिति लगायत एनबिसिएन (नेपाल वर्ड कन्जरभेसन नेपाल) सँग सम्बन्धित गुल्मी जिल्लामा रहेका सम्पूर्ण सक्रिय साझेदार संस्था र आम जनसमुदायलाई समेत चरामैत्री विकासका लागि अनुरोध गरिएको छ । गिद्ध संरक्षण गर्न गिद्धको आहारा आवश्यक पर्ने भएकाले रेसुङ्गा नगरपालिका क्षेत्रभित्र मृत्यु भएका पशुपन्क्षीहरुलाई चौतारामा पुर्‍याई गिद्ध संरक्षणमा सहयोग पुर्‍याउन समेत संरक्षण समितिले अनुरोध गरेको छ ।

गत वर्ष रेसुङ्गामा चिर, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायु महाचिल लगायतका विश्वकै दुर्लभ प्रजातिका विभिन्न चराहरू रहेका थिए । साथै लोपोन्मुख काँडेभ्याकुर र गिद्धहरूको समेत वासस्थान छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *