बैशाख ३० , गुल्मी । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि गुल्मीका तीन स्थानीय तह छनोट भएका छन् ।
नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि छनोट भएका लुम्बिनी प्रदेशका ११ स्थानीय तहमध्ये गुल्मीका ३ वटा स्थानिय तह रहेका हुन् ।
कार्यक्रममा लागि गुल्मीको गुल्मी दरबार गाउँपालिका,रेसुङ्गा नगरपालिका, कालिगण्डकी गाउँपालिका, रहेका छन् ।
गुल्मी दरबार गाउँपालिकाले फलफुल तथा तरकारी खेती प्रवद्र्धन कार्यक्रम र रेसुङ्गा नगरपालिकाले रेसुङ्गा क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि साहसिक खेल जिपलाइन तथा स्काई साईक्लिंग निर्माण योजना सम्बन्धि परियोजना सञ्चालन गर्नका लागि छनोट भएका छन् । यस्तै कालिगण्डकी गाउँपालिका सुन्तलाजात फलफुल तथा तरकारी खेतीमा कृषि प्रविधि, प्रशोधन र दिगो कृषि विकास परियोजना छनोट भएको छ ।
कार्यक्रमका लागि पाल्पाको रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिका रहेका छन् । रिब्दीकोटले रिब्दिकोट अकबरे, बेसार र सुन्तलाको मुल्यशृंखला विकास कार्यक्रम र तिनाउले आर्थिक तथा सामाजिक विकासका लागि समुदायमुलक पर्यटन ( होमस्टे प्रवद्र्धन) सँगै उद्यमशीलता कार्यक्रमका लागि छनोट भएका हुन् ।
आर्घाखाँचीको भूमिकास्थान नगरपालिका,सन्धिखर्क नगरपालिका,बर्दियाको बाँसगढी नगरपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका,रुपन्देहीको गैडहवा, दाङको राप्ती गाउँपालिका गाउँपालिका रहेका छन् ।
जहाँ राप्ती गाउँपालिकाले बेसार/अदुवा उत्पादन तथा प्रसोधन उद्योग स्थापना तथा सञ्चालन आयोजना, भूमिकास्थान नगरपालिकाले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न कृषि जन्यवस्तु तथा हस्तकलाका सामग्रीहरु उत्पादन र बजारीकरणको लागि सुचिकृत बेरोजगार जनशक्ति परिचालन कार्यक्रम, बाँसगढी नगरपालिकाले जैविक कृषि प्रवद्र्धन आयोजना, त्रिवेणी गाउँपालिकाले युवा रोजगारी तथा स्वरोजगारीको लागि दिगो कृषि परियोजना सञ्चालन गर्नका लागि छनोट भएका छन् ।
यस्तै गैडहवा गाउँपालिका आर्थिक तथा सामाजिक विकासमा गैडहवा, ,सन्धिखर्क नगरपालिका सामुदायिक विद्यालयमा आधारभूत शिक्षाको गुणस्तर सुधारको लागि इ सिकाई र डिजिटल शिक्षा परियोजनाका लागि छनोट भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले नयाँ उद्यमी र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न सो कार्यक्रम ल्याएको हो । उसले चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालनका लागि स्थानीय तहसँग प्रस्ताव आह्वान गरेको थियो । जसका लागि ६० वटा स्थानीय तहले प्रस्ताव पेश गरेका थिए । उनीहरूले आफ्नो योजनासहित प्रस्ताव पेश गरेका हुन् ।
प्रदेश सरकारले प्रस्ताव पेस गर्नका लागि गत माघ १५ गते सूचना प्रकाशित गरेर ३० दिनको समय दिएको थियो । प्रदेशका १०९ पालिकामध्ये ६० वटा पालिकाले कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गरेको पनि ११ वटा स्थानीय तह मात्र छनोट हुन सफल भएका हुन् । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८० बमोजिम गत माघ १५ मा प्रकाशित सूचना बमोजिम पेश हुन आएका प्रस्तावहरू मध्ये सोही निर्देशिकाको परिच्छेद २ को दफा ९ बमोजिम मुल्यांकन भई गत फागुन २४ गतेकोे निर्देशक समितिको निर्णयानुसार प्रदेशका ११ स्थानीय तहको नाम स्वीकृत गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।
छनोट भएका पालिकामा कार्यक्रम सञ्चालनका लागि १८ करोड ६० लाख रकम प्रस्ताव गरिएको छ । जसमध्ये १० करोड ८८ लाख प्रदेश सरकारबाट र सात करोड ७१ लाख पालिकाले बेहोर्नुपर्ने छ । लागत सहभागिताको आधारमा कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । छनोट गरिएका पालिकामा कृषि, फलफूल, तरकारी क्षेत्रमा पाँचवटा, उत्पादन रोजगारसम्बन्धी तीनवटा, पर्यटनसम्बन्धी दुई र सेवा प्रभाव क्षेत्रको एक क्षेत्र रहेका छन् । निर्णय भएसँगै अब कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्ने प्रदेश सरकारले जनाएको छ ।