माघ २९ ।
अनिल साह र भीम सार्कीको शतक मद्दतमा क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । आजको खेल ९ विकेटले जितेसँगै तीन खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा जम्मा एक विकेट गुमाएर भेटायो ।
नेपालका अनिल साह र भीम सार्कीले शतक बनाए । दुवै खेलाडीको यो पहिलो शतक हो । अनिल साहले आफ्नो दोस्रो खेलमै शतक प्रहार गरेका हुन् । अनिल १ सय १२ रनमा नटआउट रहे । यस्तै, भीम १ सय १ रनमा नटआउट रहे । अनिलले दोस्रो खेलमा पनि अर्धशतक बनाएका थिए । एउटै खेलमा नेपालका दुई जना खेलाडीले शतक बनाएको यो पहिलो पटक हो ।