चैत २९ , गुल्मी ।
इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।
इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ।
खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ। रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ।
इदका अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। यसवर्ष हिजो बुधवार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन आज बिहीवार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ ।
राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुले इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्लिम धर्मावलम्बीको महान पर्व इद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।