पौष २६ गुल्मी:
अंग्रेजी नयाँँ बर्ष सन् २०२४ मनाउन काठमाडौं देखि बुटवल आउन भनी हिँडेका सुदिप ज्ञवाली दुई हप्ता हुँदा सम्म अझै संपर्क बिहिन हुनुहुन्छ। यही पुस १२ गते काठमाडौंको धापासीबाट घर आउँदै छु भनि हिँडेका ३५ वर्षीय ज्ञवाली दुई हप्ता देखी बेपत्ता हुनुभएको हो ।
ज्ञवालीले श्रीमती झरनालाई फोन गरी आफु घर आउन लागेको जानकारी गराउनुभएको थियो तर उहाँ कहाँ कस्तो अवस्थामा रहेको भन्ने अझैसम्म कुनै जानकारी नआएको परिवारले जनाएको छ । ज्ञवाली बेपत्ता भएपछि आफन्तले इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी प्रधान कार्यालय महाराजगन्जमा खोजी गरि पाँउ भनी निवेदन दिएका छन् ।
बुटवल उपमहानगरपालिका—१२ मा बस्दै आउनुभएका ज्ञवाली कामको सिलसिलामा हाल काठमाडौ बस्दै आउनुभएको थियो । उहाँका श्रीमती र छोरा भने बुटवलमै बस्दै आउनुभएको छ । ‘१२ गते साँझ ७ः१२ मा फोन गरेर हिँडे भन्नुभयो, त्यसपछि फोन लागेन’, श्रीमती झरनाले भन्नुभयो । काठमाडौ बसपार्कमा बुझ्दा समेत बुटवलतर्फ आउने कुनै पनि बसमा टिकट नकाटेको पाइएको उहाँले बताउनुभयो ।
‘उहाँको परिवार, आफन्त र साथीभाइ सबैसँग राम्रो सम्बन्ध र व्यवहार थियो, घरमा कुनै झैझगडा समेत भएको थिएन, दिनहुँ छोरासँग फोनमा कुरा गरेर मात्र सुत्नुहुन्थ्यो, यतिका दिन कहाँ जानुभयो थाहै भएन’, श्रीमती झरनाले दुखेसो पोख्नुभयो ।
ज्ञवालीका ससुरा घनश्याम मरासिनीका अनुसार औषधी कम्पनीमा एमआरको रुपमा काम गर्दै आएका ज्ञवालीको प्रहरीले खोजतलास गर्ने क्रममा पुस १२ गते गैंडाकोटको शीलन्यास चोकमा मोबाइलले लोकेशन देखाएको थियो ।
‘हामीले ज्वाई हराएको सूचना जताततै दियौँ कतिले उहाँजस्तै मान्छे देखेर फोन पनि गर्नुहुन्छ तर हेर्न जाँदा अर्कै मान्छे हुन्छ, यसले अर्को तनाव थपिएको छ’, उहाँले भन्नुभयो ।