भुवन भुसाल, गुल्मी । भिषण बर्षा होस, कठ्याङ्ग्रीदो चिसो होस या चरम गर्मी महिला स्वास्थ्य स्वयंसेविकालाई कहिल्यै थकाई लागे जस्तो देखिदैन । परिवारका बुहारी बुहार्तन सकेपछी बंचेको समयमा समाज सेवामा तल्लिन भएकै हुन्छन । चुँडिएका चप्पल नै किन नहुन, बाक्लो पछ्यौरी होस नहोस उनिहरुले दुखको महशुस नगरी काम गरे जस्तै देखिन्छन भलै उनिहरुका मनभरी पीडा किन नहोस ।
बिहिबार तिनै गाउँमा संघर्ष गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरु आफ्नै ड्रेसमा लरक्क परेर आएका देखिन्थे । गाउँपालिकाका सबै वडाका ८६ जना महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान कार्यक्रम छत्रकोट गाउँ पालिकाले आयोजना गरेको थियो । स्वास्थ्य शाखाकी कर्मचारी सपना टण्डनले कार्यक्रम संचालन गर्दै महिला स्वास्थ्य स्वयंसेविकाको अनवरत कर्मले नै छत्रकोटको स्वास्थ्य शाखा गुल्मी जिल्लामा प्रथम बन्न सफल भएको बताउँदा उनिहरुले बर्षभरीकै दुख बिर्सिए झैं गरि अनुहार उज्यालो पारेका देखिन्थे ।
कार्यक्रममा आएका स्वयंसेविकाहरुले प्रत्येक वडाबाट एक एक वटा सांगीतिक प्रस्तुती समेत लिएर आएका थिए । कसैले छत्रकोट प्रथम भएकोमा बधाई दिंदै महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने कार्यक्रम पनि छत्रकोटमा मात्रै रहेको भन्दै गित मार्फत खुशी व्यक्त गरे भने कसैले स्वास्थ्य संदेश गित मार्फत नै छरे ।
छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले महिला स्वस्थ्य स्वयंसेविकाहरुको मुक्त कण्ठले प्रशंसा गर्नुभयो । बर्षभरी सिमित श्रोत साधनका बावजुत मानव सेवामा खट्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रसंसा शब्दले गर्न नसकिने बताउनुभयो । कार्यक्रममा आएका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँमै फुलेका फुलका माला, पछ्यौरी र सम्मान पत्रले सम्मान गर्दा महिला स्वास्थ्य स्वयंसेविकाको अनुहार बत्ती झै बलेका थिए ।
सम्मान ग्रहण गरेपछी बोल्ने पालो आयो छत्रकोट गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविका हकहित समिती अध्यक्ष राधा न्यौपानेको । “२० औं महिला स्वास्थ्य स्वयं सेविका दिवस समयमा मनाउन नपाएकोमा कता कता दुख त लागेको छ संगैमा सम्मान पाउन पाउँदा सुखको अनुभुती गर्न पाएका छौँ” न्यौपानेले भन्नुभयो । अध्यक्ष न्यौपानेले गाउँगाउँमा आफुहरुलाई प्राथामिक डाक्टरको रुपमा पुकार्ने गरेको उल्लेख गर्नुभयो । स्थानिय सरकारले दिएको सुबिधामा टिप्पणी गर्नुपर्ने ठाउँ नरहेपनी केन्द्र सरकारले प्रत्येक पटकको बजेट भाषणमा खिन्न पार्ने गरेको दुखेसो पोख्नुभयो । तथ्यांक लिने देखि महामारी नियन्त्रण सम्म आफुहरुले काम गर्ने गरेको उल्लेख गर्दै सरकारले दिने सेवा सुबिधामा सधै अवहेलना गर्ने गरेको गुनासो राख्दै पालिकाले भने निबृत्तीभरण, भ्रमण, तालिम, सम्मान लगायतका काम गरेर हौसला भरेको बताउनुभयो ।
कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी राम प्रसाद पाण्डेयले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेर वहाँहरुको कर्मको मुल्यांकन हुन नसक्ने बताउनुभयो । छत्रकोट गाउँपालिकाको स्वास्थ्य नीति सफल बनाउन पहिलो भुमिका स्वयंसेविकाहरु रहेको बताउनुभयो । अध्यक्ष पाण्डेयले महिला स्वास्थ्य स्वयंसेविकाहरु घरघरको पहिलो डाक्टर भएको समेत उल्लेख गर्नुभयो ।वहाँले महिला स्वास्थ्य स्वयंसेविकाले पाईरहेको सेवा कम भएको आफुलाई अनुभुती भएपनी श्रोत साधनको कारण मन फुकाएर बढाउन नसकिएको बताउनुभयो ।
कार्यक्रमकि अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले स्वयंसेविकाले स्वास्थ्यको क्षेत्रमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । बाल मृत्युदर, मात्री मृत्युु दर घटाउन, महामारी न्यूनीकरण गर्न महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाले खेलेको भुमिका अतुलनिय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले छत्रकोटका अध्यक्ष पिताम्बर अर्यालले हाल सम्म देशले स्वास्थ्यको क्षेत्रमा गरेको प्रगतीको प्रथम श्रेय स्वयमसेविकालाई जाने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका ६ वटै वडा बाट एक एक जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाई सम्मान समेत गरिएको छ । वडा नं १ बाट लक्ष्मी सुबेदी, वडा नं २ बाट नैना राना, वडा नं ३ बाट राधा कुमारी पाण्डे, वडा नं ४ बाट राधा न्यौपाने, वडा नं ५ बाट सीता गौतम र वडा नं ६ गिता ज्ञवालीले सम्मान पाउनुभएको छ ।
कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेस छत्रकोटका नेता भेषराज कंडेलले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुलाई सम्मान गरेकोमा धन्यवाद दिंदै धन्यवाद दिदै नगद सहित सम्मान गरेको भए अझै राम्रो हुने बिचार व्यक्त गर्नुभयो ।
छत्रकोट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष राम प्रसाद कंडेलले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्यको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । वडा नं ४ का वडा अध्यक्ष एवम् सामाजिक बिकाश समिति संयोजक गुणाखर ज्ञवालीले बिना बेतन झुपडी र गाउँ टोलका डाक्टर महिला स्वास्थ्य स्वयंसेविकाको प्रशंसा जति गरे पनि कम हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई समेत सम्मान गरिएको छ । उनिहरुलाई कार्यक्रम सफल बनाउन मद्दत गरेकोमा सम्मान गरिएको हो ।