साउन २३, गुल्मी।
राष्ट्रिय युवा संघ छत्रकोट गाउँपालिका कमिटीले मदन भण्डारी राजमार्ग अन्तर्गतको छत्रकोट गाउँपालिकाभित्र पर्ने धरमपोखरादेखि भेडुवा पल्लिकोटसम्मको सडक खण्ड को निर्माण कार्य छिटोभन्दा छिटो गर्न समानान्तर इलाइट जेभीलाई ध्यानाकर्षण गराएको छ ।
कमिटीले मदन भण्डारी राष्ट्रिय राजमार्ग निर्माणाधीन अवस्थामा रहेको र छत्रकोट गाउँपालिका भित्र पर्ने धरमपोखरादेखि भेडुवा पल्लिकोटसम्मको सडकमा खाल्डाखुल्डी र हिलाम्मे रहेकाले आम सर्वसाधारण निकै कष्टकर गर्न बाध्य भएको भन्दै छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न ध्यानाकर्षण गराएको हो।
उक्त बाटो भएर हिँड्ने यात्रु तथा सवारी साधनले सास्ती खेप्नु परेको भन्दै तत्कालै हिलो र खाडल भएको सबै ठाउँमा ग्राबेल राखी रोलरले च्यापेर बाटो सरल र सहज बनाइ आम सर्वसाधारणको दैनिकी सहज बनाइदिन अनुरोध गरेको हो।
राष्ट्रिय युवा सङ्घ नेपाल छत्रकोट गाउँपालिका कमिटीले समयमै समस्या समाधान नभए कठोर कदम चाल्न सक्ने कमिटीका अध्यक्ष किरण न्यौपानेले जानकारी दिनुभयो ।