छत्रकोट गाउँपालिकाले पठायो श्रीङ्गा जनता माविका प्रअ खरेललाई २४ घण्टे स्पष्टीकरण पत्र

वैशाख २५,गुल्मी
गुल्मीको छत्रकोट गाउँपालिकाले श्रीङ्गा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विकास चन्द्र खरेललाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ ।

गाउँपालिकाले शिक्षक सरुवाको सुची तयार पारी प्रधानाध्यापकलाई थमाउन खोज्दा विवाद देखिएको थियोे ।
हिजो विद्यालय समायोजन सम्बन्धि बिषयले तरङ्ग पैदा भएको विषयलाई लिएर आज प्रधानाध्यापक खरेललाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ ।
गाउँपालिकाले पठाएको पत्रमा “गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुका प्रधानाध्यापकहरुलाई कार्यालयबाट पत्र दिने सिलसिलामा तपाईलाई पनि अनुरोध सहित पत्र दिएको विषयमा सामाजिक संजाल लगायत संचार माध्यममा गाउँपालिका अध्यक्ष र शिक्षा प्रमुखले दबाब सृजना गरेको, गाउँपालिकाले दिएको जिम्मवारी पूरा गर्न असमर्थ रहेको तथा आम अभिभावकमा भ्रम सृजना गर्ने उद्देश्यले आवश्यक परे पदबाट हट्ने जस्ता विषय समेटि प्रेस विज्ञप्ती सार्वजनिक गर्नु पदीय मर्यादा विपरित कार्य भएको उल्लेख गरिएको छ ।

पत्रमा विद्यालय समायोजन र दरवन्दी मिलानमा विद्यालयको प्रधानाध्यापकको हैसियतले गाउँपालिकालाई सहयोग गर्नु पर्ने उल्लेख छ

(विद्यालय समायोजन र दरवन्दी मिलान जस्तो महत्वपूर्ण कार्यमा विद्यालयको प्रधानाध्यापकको हैसियतले गाउँपालिकालाई सहयोग गर्नुको सट्टामा स्वयम् गाउँपालिका अध्यक्ष र शिक्षा प्रमुखको मानमर्दन तथा छत्रकोट गाउँपालिका गुणस्तरीय शिक्षा सवलीकरण गर्न उन्मुख भईरहेको अबस्थामा समग्र शिक्षाक्षेत्र धव्स्त गर्ने गरी आमसंचार माध्यममा विज्ञप्ती सार्वजनिक गर्दै हिड्नु प्रधानाध्यापकको पदीय मर्यादा र अनुशासन वितरित कार्य हो ? सो कार्य किन गर्नुपरेको हो ? सोको चित्तबुझ्दो लिखित स्पष्टीकरण यो पत्र प्राप्त मितिले २४ घण्टा भित्र पेश गर्नुहुन अनुरोध छ ।)

गाउँपालिकाले पठाएको २४ घण्टे स्पष्टीकरण पत्रको प्रधानाध्यापक विकास चन्द्र खरेलले विज्ञप्ति मार्फत जवाफ दिनु भएको छ ।

यता विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामचन्द्र कंडेलले विद्यालयका प्रधानाध्यापक विकास चन्द्र खरेललाई गाउँपालिकाले गरेको अपमान प्रति विद्यालय व्यवस्थापन समितिको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउनुभएको छ ।

साथै उहाँले शैक्षिक व्यक्तिहरूलाई कमजोर बनाउनु तथा अपमानजनक व्यवाहारको कारणले शिक्षकहरूको मनोबल गिर्ने भएकाले त्यसो नगर्न गाउँपालिकालाई अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *