रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुने

वैशाख २४ गुल्मी, रमेश विश्वकर्मा । 

पहाडी जिल्ला गुल्मीलाई सिधै काठमाडौँसँग जोड्ने हवाई यातायातको रूपमा रहेको रेसुङ्गा विमानस्थलमा हप्ताको चार उडान हुने भएको छ । हाल हप्तामा तीन पटक मात्रै उडान हुँदै आएकोमा यही वैशाख २९ गतेदेखि हप्तामा चार पटक उडान हुने भएको हो ।

सोमबार पत्रकार सम्मेलनमार्फत रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले यहाँका यात्रुको चापलाई ध्यानमा राख्दै अब हप्ताको चार पटक उडान हुने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँका अनुसार प्रत्येक हप्ताको सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान हुने भएको हो ।

यात्रुको चाप बढ्दै गएको र प्लेन टिकट अझै सर्वसाधारणको पहुँचमा नभएकाले निजी एयरलाइन्ससँग पनि सातै दिन हवाई उडानका लागि छलफल प्रारम्भ गरिएको उहाँले बताउनुभयो । हवाई यातायातलाई निरन्तरता दिनका लागि सङ्घीय सरकारको पनि ध्यान जान आवश्यक रहेको नगरप्रमुख पन्थीले बताउनुभयो ।

सङ्घीय सरकारले नीतिगत व्यवस्था गरी ठुला जहाज खरिद गर्दा साना हवाईजहाज पनि खरिद गर्ने नीति ल्याउनुपर्ने भन्दै उहाँले सरकारले ट्विनअटर जहाज खरिद नगरे पहाडी जिल्लामा करोडौँ खर्चेर निर्माण भएका विमानस्थलहरू बन्द हुने अवस्थामा पुग्ने बताउनुभयो । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको छ ।

उडान हुने दिनमा मात्र प्रहरी पठाएर सुरक्षा दिने काम भइरहेको यस विमानस्थलमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर दीर्घकालीन रूपमा चौबीसै घण्टा विमानस्थलको सुरक्षा गर्नको लागि नेपाल प्रहरीको एक पोस्ट बस्ने भएको बताइएको छ । रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७ः४० बजे उडान गर्ने समय तालिका छ ।

काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार २८० रुपियाँ र यहाँदेखि काठमाडौँका लागि सात हजार ८० रुपियाँ भाडा दर कायम गरिएको छ । ३५ करोडभन्दा बढी लगानीमा निर्माण भएको रेसुङ्गा विमानस्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । यो कुल १५६ रोपनी जग्गामा फैलिएको  छ । विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधिग्रहण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *