चैत २४ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले ३६ हजार तलबी जनप्रतिनिधिलाई १८ हजारमा झार्नुपर्ने बताएका छन् । नेपालमा स्थानीय तहदेखि प्रदेश हुंदै केन्द्रसम्म तलब खाने जनप्रतिनिधि अत्यधीक धेरै भएकाले आधा घटाउनुपर्ने बताए । उनले सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्रै देश बन्ने बताएका छन् ।
मुलुको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गर्दै भण्डारीले त्यसैका कारण मुलुक पछाडि परेको बताए ।
शनिबार बुटवलमा होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै उनले ठूला दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रिएको औंल्याए ।
अपवाद वाहेक अधिकांश नेताहरु देश बनाउन होइन आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ ।
सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरु समस्यामा परेका उल्लेख गर्दै नेता भण्डारीले जनप्रतिनिधिलाई तलब खुवाउन सवारी साधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको बताए ।
सरकारले देशका १२ जना ठूला व्यापारीको मात्रै पक्षपोषण गरेकाले साना तथा मझौला व्यवसायीहरु संकटमा परेको भण्डारीले आरोप लगाए ।
न्यायालय पनि ठूला व्यापारी थुनामा पर्दा उनीहरुकै प्रभावमा परेर छोड्न दबाब दिने गरेको उनको टिप्पणी थियो ।
चर्को कर र बैंक ब्याज दरका कारण नेपालको कृषि र अन्य व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको उनले औंल्याए ।
देश बनाउन अब आउने चुनावमा भ्रष्ट नेताहरुलाई हराउन मतदाता पनि परिवर्तन हुनुपर्ने उनले आग्रह गरे ।
नेता भण्डारीले नेपालमा सांसद र मन्त्रीको संख्या अत्यधिक धेरै भएकाले राजस्वले तलब खुवाउन पनि नपुग्ने अवस्था रहेको बताए ।
कमिसन खानका लागि विदेशबाट ऋण लिएर पूर्वाधारमा अन्धाधुन्द लगानी गरिएको उनले बताए ।
सरकारसंग वृद्धहरुलाई दिने मासिक ४ हजारका दरले दिने भत्ताको रकम पनि नभएको उल्लेख गर्दै वृद्ध भत्ताको साटो जन्मिएपछि बैंक खातामा ५ हजार जम्मा गर्दिने र बृद्धभत्ता खारेज गर्नुपर्ने तर्क गरे ।