रुरु क्षेत्र धाम रिडीमा भोलि नेपालमै दशौं भजन महोत्सव हुँदै, तयारी पूरा

साबित्रा पौडेल, मंसिर २० गुल्मी।

गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरुक्षेत्र धाम रिडीमा भोलि हुने भजन महोत्सव तथा करोड दिप प्रज्वलनको सम्पूर्ण तयारी पूरा भएको छ।
रुरु धार्मिक सेवा सञ्चार प्राली रुरु क्षेत्र धाम रिडीमा मङ्सिर २१ गते अर्थात् भोलि नेपालमै दसौं भजन महोत्सव भजन प्रतियोगिता, दोहोरो शंख बजाउने प्रतियोगिता, कालीगण्डकीमा करोड दीप प्रज्वलन, बृहत पित्री भन्डारा, चार जिल्ला गुल्मी, पाल्पा, स्याङ्जा र अर्घाखाँचीका एक जिल्ला एक उत्कृष्ट क्रियाशिल पत्रकार सम्मान, उत्कृष्ट कृषक सम्मान, पितृहरुको सम्झनामा शिवमहापुराण, पाठ पारायण, चौरासी पुजा, चन्डी पाठ, रुद्राभिसेक कर्म, नबग्रह शान्ति लगायतका विविध कार्यक्रमहरू हुँदैछन्।
भजन प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु. १४ हजार र प्रमाणपत्र द्वितीय हुने समूहलाई नगद रु. ९ हजार र प्रमाणपत्र तृतीय हुने समूहलाई नगद रु. ६ हजार र प्रमाणपत्र तथा सान्त्वना हुने समूहलाई नगद रु. २ हजार र प्रमाणपत्र र सहभागी टोलीलाई नगद रु. १ हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै शङ्ख बचाउने प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु. २० हजार द्वितीय हुने समूहलाई नगद रु. १५०० र तृतीय हुने समूहलाई नगद रु. १ हजार तथा सान्त्वना हुने दुई समूहलाई नगद रु. ५०० र प्रमाणपत्र प्रदान गरिने रुरु धार्मिक सेवा सञ्चार प्रालीका अध्यक्ष चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो ।
भजन महोत्सवको उद्घाटन गर्न लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनेन्द्र कार्की आउनुहुनेछ ।