विधेयक अधिवेशनको रूपमा रहेको संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । अधिवेशनमा संक्रमणकालीन न्याय, संघीय निजामती, संघीय प्रहरी, विद्यालय शिक्षालगायत संघीयता कार्यान्वयनसम्बन्धी विधेयक सरकारको उच्च प्राथमिकतामा छन् । कानुन निर्माणमा यस अधिवेशनलाई परिणाममुखी बनाउने दलहरूको प्रतिबद्धता छ ।
सोमबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बसेर अधिवेशन औपचारिक रूपमा प्रारम्भ हुनेछ । पहिलो दिन राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पेस गर्ने, पारित भएका विधेयकको सन्देश तथा समितिको प्रतिवेदन पेस गर्ने औपचारिक कार्यसूची तय गरिएको छ । दलका शीर्ष नेताले २४ माघमा तोकिएको दोस्रो बैठकमा सम्बोधन गर्ने तय भएको छ ।