छत्रकोट गुल्मीमा बिधालय समायोजन तथा दरबन्दी मिलान सम्बन्धि प्रतिवेदन बहुमतले पारीत

चैत्र २२ गुल्मी/इस्वरी बश्याल।

छत्रकोट गाउँपालिका गुल्मीको गाउँ सभाको १७ औँ विशेष अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनमा गाउँपालिकाका दरबन्दी मिलान तथा समायोजन समितिका परामर्श समितिका सदस्य घनश्याम न्यौपानेले छत्रकोट गाउंँपालिकाको बिधालय समायोजन तथा दरबन्दी मिलान सम्बन्धि प्रतिवेदन २०८० माथी छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

उक्त प्रतिवेदन बहुमतको साथ पारित भएको थियो ।

जनसंख्या, भूगोल, आधारभूत पूर्वाभार विकास, दक्ष विषयगत शिक्षकको प्रबन्ध लगायतका आधारमा पालिकाले सामुदायिक विद्यालय समायोजन गर्ने भएको हो ।
विद्यार्थीहरूको संख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दुरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा गाभिएको सामाजिक विकास समितिका सदस्य न्यौपानेले बताउनुभयो ।

लामो समयदेखि चल्दै आएको भएपनि विद्यार्थी र शिक्षक अनुपात नमिलेका सामुदायिक विद्यालयहरूलाई कार्यविधि बनाएर मर्जको प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।

यस्तै गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक गुणाकर ज्ञवालीले पेश गरेको छत्रकोट गाउँपालिकाको १ देखी ८ सम्मको स्थानीय पाठ्यक्रम हाम्रो छत्रकोट पाठ्यक्रम २०८० माथी छलफल गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको थियो।

प्रस्ताव पारित गर्दै सामाजिक विकास समितिका संयोजक ज्ञवालीले पाठ्यक्रम २०८१ देखि लागु गर्ने गरी तयार भइसकेको बताउनुभएको थियो ।

सामुदायिक विद्यालयमा शिक्षामा बालबालिकाको समतामूलक पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सार्वजनिक विद्यालय समायोजन एवम् एकीकरण कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्न यो कार्यविधि ल्याइएको सभाध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तन, तीव्र सहरीकरण, सडक यातायातको संजालमा भएको वृद्धि, ठूला र आवासीय विद्यालयप्रतिको आकर्षणलाई ध्यानमा राखी विद्यालय एकीकरण गर्न लागिएको उहाँको भनाइ छ ।

यसले जनशक्तिको व्यवस्थापनलाई पनि सहज बनाएको छ भने शैक्षिक गुणस्तर सुधारमा समेत सघाउ पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *